मादुरोको गिरफ्तारीपछि उपराष्ट्रपति रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी
प्रकाशित मिति : पुस १८, २०८२ शनिबार
अमेरिकाले राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। भेनेजुएलाको सर्वोच्च अदालतले मादुरोलाई पदमुक्त गरिएपछि रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको अधिकार र जिम्मेवारी सम्हाल्न आदेश दिएको हो।
स्थानीय समयअनुसार शनिबार राति जारी गरिएको आदेशमा मादुरो “आफ्ना जिम्मेवारी पूरा गर्न भौतिक तथा अस्थायी रूपमा असमर्थ अवस्थामा” रहेको निष्कर्ष निकालिएको छ।
राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारणमार्फत न्यायाधीश टानिया डी’अमेलियोले फैसला पढ्दै भनिन्, “रोड्रिगेजले भेनेजुएलाको बोलिभेरियन गणतन्त्रका राष्ट्रपतिको पदसँग सम्बन्धित सबै अधिकार, कर्तव्य र जिम्मेवारी कार्यवाहक राष्ट्रपतिको हैसियतमा ग्रहण गर्नेछिन्, ताकि प्रशासनिक निरन्तरता र राष्ट्रको समग्र सुरक्षा सुनिश्चित गर्न सकियोस्।”
भेनेजुएलाको संविधानअनुसार राष्ट्रपतिको पद अस्थायी वा स्थायी रूपमा रिक्त भएमा उपराष्ट्रपतिले उक्त पदको जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था छ।
अमेरिकी विशेष बल ‘डेल्टा फोर्स’ ले कराकासस्थित मादुरोको निवासमा छापा मारेर उनलाई हिरासतमा लिएको हो। उनी सुरक्षित कक्ष तर्फ भाग्न खोज्दा पक्राउ परेका थिए।
अमेरिकाले नियन्त्रणमा लिएका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई हाल ब्रुकलिनस्थित संघीय कारागार मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ। न्युयोर्क प्रहरी विभागले मादुरोलाई कडा सुरक्षाका साथ सो केन्द्र पुर्याएको हो।
उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत हिरासत केन्द्र लगिएको थियो। मादुरोले आगामी साता म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध र हतियार ओसारपसार सम्बन्धी आरोपको सामना गर्ने तयारी छ।
मादुरो पक्राउ परेपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालसम्म “सञ्चालन गर्ने” घोषणा गरेका छन्। फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “हामी सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म देश चलाउनेछौँ। हामी कसैलाई सत्तामा ल्याएर फेरि विगतका वर्षहरू जस्तै अवस्था दोहोरियोस् भन्ने चाहँदैनौँ। त्यसैले हामी नै देशको रेखदेख गर्नेछौँ।”
ट्रम्पले भेनेजुएलाको जिम्मा अमेरिकाले लिनुको उद्देश्य भावी नेतृत्वले “भेनेजुएलाली जनताको हितलाई केन्द्रमा राखोस्” भन्ने सुनिश्चित गर्नु रहेको बताए। तर यस्तो सत्ता हस्तान्तरण प्रक्रियामा कति समय लाग्नेछ भन्नेबारे उनले कुनै स्पष्ट समयसीमा दिएनन्।
यसका साथै ट्रम्पले अमेरिकाले भेनेजुएलाको ऊर्जा पूर्वाधार आफ्नो नियन्त्रणमा लिने र अमेरिकी तेल कम्पनीहरूलाई त्यसको जिम्मा दिने योजना पनि सार्वजनिक गरे। उनका अनुसार विश्वकै ठूला अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा अर्बौँ डलर लगानी गर्नेछन्।





