न्युयोर्कका मेयर मम्दानीद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउको आलोचना
प्रकाशित मिति : पुस १८, २०८२ शनिबार
अमेरिकाको न्युयोर्कका मेयर जोहरान मम्दानीले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीको पक्राउको कडा विरोध गरेका छन्।
मेयर मम्दानीले अमेरिकी कारबाहीको आलोचना गर्दै कुनै पनि सार्वभौम राष्ट्रमाथि गरिने यस्तो एकतर्फी कदम ‘युद्धको कार्य’ सरह भएको बताएका हुन्। उनले यो कारबाहीलाई संघीय तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन समेत भनेका छन्।
उनले भनेका छन्, “यो खुला रूपमा गरिएको सत्ता परिवर्तनको प्रयासले विदेशमा मात्र होइन, न्युयोर्कवासीहरूलाई पनि प्रत्यक्ष असर गर्छ।” मेयर मम्दानीका अनुसार अमेरिकी आक्रमणले विशेषगरी न्युयोर्क सहरलाई आफ्नो घर मानेर बस्दै आएका दशौँ हजार भेनेजुएलालीहरूलाई प्रभावित पार्नेछ।
मम्दानीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, राष्ट्रपति मादुरो र उनकी पत्नीको पक्राउ तथा उनीहरूलाई न्युयोर्क सहरकै संघीय हिरासतमा राख्ने योजनाबारे आफूलाई पूर्वजानकारी दिइएको बताएका छन्।
मादुरो र उनकी पत्नीलाई हाल ब्रुकलिनस्थित संघीय कारागार मेट्रोपोलिटन डिटेन्सन सेन्टर मा राखिएको छ।
न्युयोर्क प्रहरी विभागले मादुरोलाई कडा सुरक्षाका साथ सो केन्द्र पुर्याएको हो। उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत हिरासत केन्द्र लगिएको थियो।
उक्त हिरासत केन्द्रमा यसअघि पनि धेरै चर्चित संघीय मुद्दाका अभियुक्तहरूलाई राखिसकिएको छ। तीमध्ये संगीत व्यवसायी सिन “डिडी” कोम्ब्स र क्रिप्टो उद्यमी स्याम बैंकम्यान–फ्राइड जस्ता व्यक्तिहरू पनि सोही केन्द्रमा थुनिएका थिए।
मादुरोले आगामी साता म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध र हतियार ओसारपसार सम्बन्धी आरोपको सामना गर्ने तयारी छ। पक्राउ परेलगतै उनलाई राति नै न्युयोर्क ल्याइएको थियो।





