अमेरिकाको क्यालिफोर्नियामा पेट्रोल अभावको सम्भावना, मूल्य बढ्ने अनुमान


प्रकाशित मिति : पुस ४, २०८२ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा चाँडै पेट्रोलको अभाव हुन सक्ने सम्भावना देखिएको छ। देशकै सबैभन्दा महँगोमध्ये पर्ने यहाँको पेट्रोलको मूल्य, अभावका कारण अझै बढ्न सक्ने देखिन्छ।

राज्यका पेट्रोलियम पदार्थका रिफाइनरीहरू (तेल प्रशोधन केन्द्र) वर्षौँदेखि बन्द हुँदै आएका छन्। यसै क्रममा अब थप दुई रिफाइनरी बन्द हुने तयारीमा छन्।

लस एन्जलस क्षेत्रमा रहेको रिफाइनरी यसै महिनाको अन्त्यमा बन्द हुँदैछ भने ‘बे एरिया’को अर्को रिफाइनरी अप्रिलमा बन्द हुनेछ। यी दुई रिफाइनरीले क्यालिफोर्नियाको करिब १७ प्रतिशत पेट्रोल आपूर्ति गरिरहेका थिए।

क्यालिफोर्नियाका चालकहरूले पहिलेदेखि नै देशका अन्य भागको तुलनामा करिब ५० प्रतिशत बढी मूल्य तिर्दै आएका छन्। हाल यहाँ प्रति ग्यालन औसत मूल्य करिब ४.३२ डलर छ। ‘लिपो आयल एसोसिएट्स’का अध्यक्ष एन्डी लिपोका अनुसार रिफाइनरीहरू बन्द हुनाले मूल्य थप ५० सेन्टसम्म बढ्न सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि क्यालिफोर्नियामा बाँकी रहेका छ वटा रिफाइनरीमध्ये कुनै एकमा आकस्मिक रूपमा उत्पादन बन्द भयो भने पेट्रोल अभावको जोखिम अझ बढ्न सक्छ। उदाहरणका लागि, फेब्रुअरीमा आगलागी भएको मार्टिनेजस्थित रिफाइनरी अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।

हवाईपछि क्यालिफोर्नियामा नै अमेरिकाको सबैभन्दा उच्च औसत पेट्रोल मूल्य छ। हवाईमा भने अधिकांश पेट्रोल जहाजमार्फत आयात गरिन्छ।

‘अमेरिकन पेट्रोलियम इन्स्टिच्युट’का अनुसार क्यालिफोर्नियामा देशकै सबैभन्दा उच्च—प्रति ग्यालन करिब ७१ सेन्ट पेट्रोल कर लाग्छ।

यो राष्ट्रिय औसतको दोब्बरभन्दा बढी हो। यसबाहेक राज्यमा ‘कार्बन कर’ पनि छ, जुन पेट्रोलका खुद्रा विक्रेता र वितरकले तिर्ने भए तापनि अन्ततः त्यसको भार उपभोक्तामाथि नै पर्छ।

अमेरिकाको राष्ट्रिय औसत पेट्रोल मूल्य घटेर प्रति ग्यालन २.७५ डलरमा झर्न सक्छ, तर क्यालिफोर्नियामा भने २०२५ को औसत ४.६४ डलरकै आसपास रहने वा अझै बढ्ने सम्भावना छ।

देशका अन्य भागमा २०२६ मा २०२५ को तुलनामा सस्तो पेट्रोल पाइन सक्ने सम्भावना भए पनि क्यालिफोर्नियामा भने मूल्य घट्ने सम्भावना न्यून छ।

लस एन्जलस रिफाइनरी सञ्चालन गर्ने ‘फिलिप्स ६६’ कम्पनीले क्यालिफोर्नियामा सञ्चालन लागत अत्यधिक भएकाले रिफाइनरी बन्द गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि, क्यालिफोर्नियाका राज्य अधिकारीहरूले भने पेट्रोल अभाव नहुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

क्यालिफोर्निया ऊर्जा आयोगका अनुसार रिफाइनिङ क्षमता घट्दै जाँदा राज्यले कच्चा तेलको आयात घटाएर प्रशोधित तेलको आयात बढाउनेछ। विश्वभरका रिफाइनरीहरूले अहिले क्यालिफोर्नियाका लागि आवश्यक ‘स्वच्छ इन्धन’ उत्पादन गरिरहेका छन्।

ऊर्जा आयोगकै तथ्याङ्क अनुसार हाल क्यालिफोर्नियाका सडकमा चल्ने गाडीमध्ये करिब ६ प्रतिशत मात्र पूर्ण विद्युतीय वा प्लग–इन हाइब्रिड छन्। त्यसैले अधिकांश चालकहरूले अझै दशकौँसम्म पेट्रोल नै प्रयोग गर्नुपर्ने देखिन्छ।

तर, क्यालिफोर्नियामा नयाँ विद्युतीय सवारीको बिक्री दर भने अमेरिकामै सबैभन्दा उच्च छ। सन् २०३५ सम्ममा नयाँ पेट्रोल चालित गाडीको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने राज्यको योजनाका कारण पनि धेरै रिफाइनरी सञ्चालकहरू वर्षौँदेखि राज्य छोड्दै आएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com