अमेरिकाले लागुऔषध बोकेको शङ्कामा गरेको सैन्य हमलामा अहिलेसम्म ८० जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार

अमेरिकाले लागुऔषध बोकेको शङ्कामा भेनेजुएलाका डुङ्गाहरूमाथि सैन्य आक्रमण गर्न दोस्रो आदेश दिएको छ।

ह्वाइट हाउसले पुष्टि गरेअनुसार, एक उच्च अमेरिकी नौसेना अधिकारीले भेनेजुएलाको भनिएको ‘ड्रग्स बोट’ मा दोस्रो चरणको सैन्य आक्रमण गर्ने आदेश दिएका थिए।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, “एड्मिरल फ्र्याङ्क ब्राडलीले आफ्नो अधिकार क्षेत्र र कानुनभित्र रहेर नै” दोस्रो आक्रमणको आदेश दिएका थिए।

तर उनले रक्षामन्त्री पिट हेगसेथले “सबैलाई मार” भन्ने आदेश दिएको भन्ने दाबी भने असत्य भएको बताइन्। प्रारम्भिक विस्फोटपछि दुई व्यक्ति जीवित रहेर जलिरहेको डुङ्गामा अड्किएकाले दोस्रो प्रहार गरिएको बताइएको छ। राष्ट्रपति ट्रम्पले रक्षामन्त्री हेगसेथलाई आफूले विश्वास गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षका सांसदहरूले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै संसदीय छानबिन गर्नुपर्ने बताएका छन्। प्रेस सचिवले पहिलो विस्फोटबाट दुई जना बचेका थिए कि थिएनन् वा दोस्रो आक्रमण उनीहरूलाई मार्नका लागि नै गरिएको थियो या थिएन भन्ने विवरण भने नदिएको बताइएको छ।

लेभिटका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा आफ्ना सुरक्षा सल्लाहकारहरूसँग भेनेजुएलाबारे बैठक गरेका छन्। अहिले अमेरिकाले क्यारिबियन सागर क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ।

भेनेजुएला तथा कोलम्बियाको तट नजिक सन्दिग्ध लागुऔषध ओसारपसार गर्ने डुङ्गाहरूमा अमेरिकाले शृङ्खलाबद्ध घातक आक्रमण गरिरहेको छ। अमेरिकी आक्रमणमा सेप्टेम्बरको सुरुदेखि अहिलेसम्म ८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

ट्रम्प प्रशासनका अनुसार यी आक्रमणहरू अमेरिकातर्फ लागिरहेका अवैध ड्रग्स नष्ट गर्ने तथा नार्को–आतङ्ककारी समूहहरूलाई निष्क्रिय पार्ने उद्देश्यले गरिएका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com