अमेरिकाको ह्वाइट हाउस नजिकै नेशनल गार्डमाथि गोली प्रहार


प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

अमेरिकामा नेशनल गार्ड सैनिकमाथि आक्रमण भएको छ। ह्वाइट हाउसबाट दुई ब्लक टाढा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको हो।

आक्रमणपछि दुवै जना गम्भीर घाइते भएका छन्। वाशिंगटन डीसीमा ह्वाइट हाउसबाट करिब दुई ब्लक टाढा भएको गोलीकाण्डमा दुई नेशनल गार्ड सैनिक गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन्।

पश्चिम भर्जिनियाका दुई नेशनल गार्ड सदस्यमाथि एकजना आक्रमणकारीले गोली चलाएको प्रहरीले जनाएको छ।

गोली चलेको आवाज सुनेपछि नजिकै रहेका अन्य नेशनल गार्ड सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका छन्। आक्रमणमा संलग्न २९ वर्षका अफगानी नागरिक रहमानुल्लाह लाकनवाल हुन्। उनी सन् २०२१ मा अमेरिकामा प्रवेश गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारीलाई कडा सजाय दिने प्रतिबद्धता जनाएका छन्। जोइन्ट टास्क फोर्स डीसीले जारी गरेको विज्ञप्तिअनुसार घटना फ्यारागट स्क्वायर मेट्रो स्टेशन नजिक भएको हो। सैनिकहरू १७ औं स्ट्रीट र ‘एक्स’ स्ट्रीटको कुनामा सुरक्षा गस्तीमा थिए।

एफबीआई निर्देशक काश पटेलले नेशनल गार्डलाई अत्यन्त नृशंस र कायरतापूर्ण शैलीमा आक्रमण गरिएको बताएका छन्। एफबीआई यस घटनाको मुख्य अनुसन्धानकर्ता हो।

हमलामा प्रयोग भएको हतियार र उद्देश्य के थियो भन्ने बारे स्पष्ट भएको छैन। पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले सुरुमा घाइते दुवै सैनिकको मृत्यु भएको दाबी गरेका थिए, तर पछि उनले आफ्नो भनाइ सच्याएका थिए। धन्यवाद दिवसको पूर्वसन्ध्यामा भएको यस गोलीकाण्डपछि ह्वाइट हाउस केही समयका लागि ‘लकडाउन’ गरिएको थियो।

युद्धमन्त्री पिट हेगसेथले राष्ट्रपतिले वाशिंगटन डीसीमा थप ५०० नेशनल गार्ड पठाउन निर्देशन दिएको बताएका छन्। यसले राजधानी सुरक्षित र सुन्दर बनाउने प्रतिबद्धता अझ बलियो बनाउने उनको भनाइ छ। हाल वाशिंगटन डीसीमा करिब २,२०० नेशनल गार्ड सदस्य तैनाथ छन्।

उनीहरू डीसीसहित लुइजियाना, मिसिसिपी, ओहायो, साउथ क्यारोलाइना, पश्चिम भर्जिनिया, जर्जिया र अलाबामा राज्यबाट आएका हुन्।

नेशनल गार्ड आरक्षित सैन्य बल हो, तर तिनीहरूलाई कानून लागू गर्ने वा पक्राउ गर्ने अधिकार भने छैन। ट्रम्पले “नियन्त्रण बाहिर” रहेको अपराधसँग लड्न अगस्तमा डीसीमा नेशनल गार्ड तैनाथ गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com