विद्यार्थीलाई खाजा खानेबेलामा आइसले नियन्त्रणमा लिएको स्कुलको भनाइ


प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिकाको ओरेगनमा रहेको हाई स्कुलका एक विद्यार्थीलाई मध्याह्नको खाजा खाने समयमा आइसले नियन्त्रणमा लिएको छ।

मध्याह्न खाजा खानेबेलामा एक विद्यार्थीलाई अमेरिकन इमिग्रेशन तथा कस्टम्स एनफोर्समेन्ट (आइस) का अधिकारीहरूले नियन्त्रणमा लिएको परिवारले जानकारी दिएको छ।

म्याकमिनभिल हाई स्कुलका १७ वर्षीय विद्यार्थी क्रिस्टियन जिमेनेजलाई आफ्ना बुबाको गाडी चलाइरहेका बेला आइस का अधिकारीहरूले रोकेका थिए।

उनले आफूलाई अमेरिकी नागरिक भएको बताए पनि एक अधिकारीले गाडीको ड्राइभर साइडको झ्याल तोडेर उनलाई जबरजस्ती बाहिर निकालेर लगेका उनका दाजु सेजर जिमेनेजले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले सार्वजनिक गरेको भिडियोमा क्रिस्टियनले “म अमेरिकी नागरिक हुँ” भन्दै दोहोर्याइरहेका बेला अधिकारीले “गाडीबाट बाहिर निस्क” भन्दै चर्को स्वरमा प्रतिक्रिया दिएको सुन्न सकिन्छ।

क्रिस्टियनलाई दक्षिण पोर्टल्यान्डस्थित आइस कार्यालयमा लगिएको थियो। तर, उनलाई साँझ रिहा गरियो। अब भने आइसका अधिकारीहरूले उनलाई “छानबिनमा बाधा पुर्याएको” आरोप लगाउन खोजिरहेको उनका दाजुले बताएका छन्।

म्याकमिनभिल हाई स्कुलकी सुपरिन्टेन्डेन्ट कोर्ट्नी फेरुआले अभिभावकलाई पठाएको सन्देशमा विद्यार्थीलाई क्याम्पस बाहिर खाना खाने समयमा आइसले लगेको पुष्टि गरिन्। आइसले नियन्त्रणमा लिएका विद्यार्थी अमेरिकी नागरिक भएको पुष्टि भएपछि परिवारको जिम्मा लगाइएको उनको भनाइ रहेको छ।

एक आप्रवासी अधिकार समूहका अनुसार आइसले यसै हप्ता पोर्टल्यान्ड वरिपरिबाट ४ गैर-आप्रवासी अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ। जसमा भिडियो खिचिरहेका दुई व्यक्ति पनि सामेल छन्।

शुक्रबार मात्र ६ जना पक्राउ परेका थिए। तीमध्ये ४ जना म्याकमिनभिलमा, १ डन्डीमा, र १ जना न्युवर्गमा पक्राउ परेको अधिकारवादी समूहले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com