अमेरिकामा फुटवल खेलाडीको हत्या गर्नेलाई आजीवन कारावासको सजाय
प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार
अमेरिकाको भर्जिनिया विश्वविद्यालयका पूर्व विद्यार्थीलाई हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
सन् २०२२ मा क्याम्पसमा तीन फुटबल खेलाडीको हत्या र दुई विद्यार्थीलाई घाइते बनाएको अभियोगमा भर्जिनिया विश्वविद्यालयका पूर्व विद्यार्थी क्रिस्टोफर डारनेल जोन्सलाई आजीवन कारावास सजाय सुनाइएको हो ।
पाँच दिनसम्म चलेको सुनुवाइपछि न्यायाधीश चेरेल हिगिन्सले जोन्सलाई आजीवन कारावासको सजाय सुनाएकी हुन । जोन्स गत वर्ष नै दोषी ठहर भएका थिए ।
विद्यार्थीहरू वासिंगटन डीसीमा नाटक हेरेर र रातिको खाना खाएर विश्वविद्यालय फर्किरहेको बेला बसमै जोन्सले उनीहरुमाथि गोली चलाएका थिए ।
जोन्स केही समय फुटबल टोलीमा थिए । तर उनको गोली हानिएका खेलाडीहरूसँग परिचयन थिएन ।
घटनाअघि उनले आफैंले ‘नर्क जाने’ वा ‘१०० वर्षभन्दा बढी जेल खाने’ जस्ता सन्देशहरू पठाएका थिए।
गोलीकाण्डपछि उनले कपडा र हतियार फ्याँकेर प्रहरीलाई झूट बोलेका थिए।
घटनाको केही दिनमै विश्वविद्यालय नेतृत्वले क्याम्पस सुरक्षा नीतिहरू, प्रतिक्रियात्मक तयारी, तथा जोन्ससँग सम्बन्धित जोखिम मूल्यांकनबारे बाह्य छानबिनको माग गरेको थियो ।
विश्वविद्यालयले गत वर्ष पीडित र परिवारहरूसँग ९ मिलियन डलर क्षतिपूर्ति सम्झौता गरेको थियो ।
जोन्सले सजाय सुनाइने दिन १५ मिनेट भावुक हुँदै अदालतलाई सम्बोधन गर्दै आफूले पिडा दिएकोका लागि क्षमा मागेका थिए ।
हत्याबाट बचेका अर्का खेलाडी माइकल हॉलिन्सले सजायपछि प्रतिक्रिया दिँदै न्याय केही हदसम्म भएजस्तो लागेको बताए ।
अमेरिकामा गोलीकाण्ड गम्भीर सामाजिक समस्या बनेको छ । हरेक वर्ष गोलीकाण्डका सयौँ घटना हुने गरेका छन । विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल, मनोरञ्जन स्थलदेखि धार्मिक स्थानसम्म गोलीकाण्डले प्रभावित पार्ने गरेको छ ।
सजिलै हतियार प्राप्त हुने व्यवस्था,मानसिक स्वास्थ्यसम्बन्धी समस्या,सामाजिक असन्तुष्टि तथा हिंसात्मक प्रवृत्ति,समुदाय स्तरमा सुरक्षाको कमजोरी जस्ता पक्षहरू गोलीकाण्डमा जोडिने गरिन्छ ।
अमेरिकी कांग्रेसले कडाइका लागि वर्षौँदेखि छलफल गर्दै आए पनि संघीयस्तरमा व्यापक सुधार गर्न कठिन भइरहेको छ । केही राज्यहरूले कडा हतियार नियन्त्रण नीति लागू गरे पनि अन्य राज्यहरूमा नियम निकै खुकुला छन् । जसले समस्यालाई झनै जटिल बनाएको छ।
गोलीकाण्डका कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउने, घाइते हुने तथा मानसिक आघात भोग्ने गरेका छन् । यसले अमेरिकी समाजमा सुरक्षा, नीति, शिक्षा र सामुदायिक स्वास्थ्यबारे निरन्तर बहस जन्माइरहेको छ।








