२० वर्षदेखि नियमित आइसको चेक-इन गर्दै आएकी थिइन् ४ सन्तानकी आमा, भइन् भियतनाम डिपोर्ट


प्रकाशित मिति : मंसिर ५, २०८२ शुक्रबार

अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी एक आमालाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले भियतनाम डिपोर्ट गरेको छ । मेरिल्यान्डमा बसोबास गर्दै मेलिसा ट्रानलाई गत मे महिनामा आइस अधिकारीहरुले हिरासतमा लिएका थिए । अक्टोबरमा एक न्यायाधीशले उनको थुनाको आवश्यकता नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएका थिए। तर, रिहा भए पनि उनी डिपोर्टेशनको जोखिमबाट जोगिन सकिनन्।

चार सन्तानकी आमा ट्रानले मेरिल्यान्डको हेगर्सटाउनमा नेल सलुन चलाउँदै आएकी थिइन् । उनका श्रीमान् ड्यानी होआङका अनुसार ट्रान डिपोर्ट भएपछि उनी एक्लैले व्यवसाय र घर दुवै सम्हाल्न बाध्य भएका छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी ट्रिसिया म्याकलफलिनका अनुसार, ट्रानलाई सन् २०१४ मै आप्रवासन न्यायाधीशले निष्कासन आदेश दिएका थिए। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनको विगतमा जालसाजी, चोरी र ठगीसम्बन्धी मुद्दा रहेको दाबी गरेको छ।

तर, उनका वकिलले भने ट्रान १९९० को दशकमा शरणार्थीका रूपमा ग्रिन कार्डसहित कानुनी रूपमा अमेरिका आएको पुष्टि गरेका छन्। सन् २००१ मा किशोरी अवस्थामा नियोक्ताको चेक चोरेको स्वीकार गरेपछि सन् २००३ मा उनलाई निष्कासन आदेश दिइएको थियो। तर, भियतनामले १९९५ अघि अमेरिका आएका व्यक्तिलाई फिर्ता लिन अस्वीकार गरेपछि उनी नियमित चेक-इनको शर्तमा अमेरिकामै बस्दै आएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रानले २० वर्षभन्दा बढी समयदेखि नियमित चेक-इन पूरा गर्दै आएकी थिइन्। तर, यस वर्षको मे महिनामा बाल्टिमोरमा भएको चेक-इनका क्रममा उनलाई पुनः हिरासतमा लिइएको थियो ।

अक्टोबरमा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेकी थिइन्, “मलाई थाहा छ मैले गल्ती गरेकी थिएँ । म त्यसको जिम्मेवारी लिन्छु। तर, मेरा बच्चाहरूले त्यसको मूल्य चुकाउनु पर्ने दृश्य अत्यन्त पीडादायी छ। यदि मानिसले आफुलाई परिवर्तन गर्छ भने उसलाई दोस्रो मौका मिल्नुपर्छ।”

उनका वकिलका अनुसार ट्रान बुधबार दिउँसो भियतनामको राजधानी हानोइ पुगेकी छन्।

उनका श्रीमान् होआङले भने, “उनी धेरै दुःखी छिन्। उनी केवल बच्चाहरूको हेरचाह गर्न चाहिन्थिन् । अब, उनले त्यो गर्न सक्दिनन्। यो मेलिसाका लागि अन्याय हो । हाम्रो परिवारका लागि अन्याय हो। उनी अपराधी होइनन्, उनी राम्रो व्यक्ति हुन्।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com