अवैध रूपमा अमेरिका प्रवेश गर्न खोजेका आप्रवासी बोकेको डुङ्गा दुर्घटना: ४ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

अमेरिका जाने क्रममा भएको समुद्री दुर्घटनामा ४ जनाको ज्यान गएको छ। क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अन्य ४ जना घाइते भएका छन्।

अवैध रूपमा अमेरिकातर्फ समुन्द्री मार्गबाट यात्रा गरिरहेका आप्रवासी बोकेको काठको डुङ्गा क्यालिफोर्नियाको सान डिएगो नजिकै तुफानी समुद्रमा पल्टिएको हो।

अमेरिकी तटरक्षकका अनुसार उक्त डुङ्गा इम्पेरियल बीचतर्फको तट क्षेत्रमा पल्टिएको अवस्थामा भेटिएको हो।

मध्यरातअघि नै तट सुरक्षा अधिकारीहरूले समुद्री तटमा छ जना व्यक्तिलाई भेटेका थिए। तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को व्यक्ति डुङ्गाको मुनि फसेको अवस्थामा जीवितै भेटेर उद्धार गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब दुई घण्टापछि, इम्पेरियल बीच पियर नजिक पानीमा कोही देखिएको खबर आएपछि तटरक्षक टोली घटनास्थल पुगेको थियो। त्यहाँ समुद्रमै तीन जना मृत भेटिए।

तटरक्षकले घटनास्थल वरपर अझै अन्य कोही हराइरहेका हुनसक्ने भन्दै खोजी कार्य निरन्तर जारी राखेको बताएको छ।

उद्धारपछि जीवित भेटिएका व्यक्तिहरूमध्ये केहीले आफू मेक्सिकन नागरिक भएको बताएको तटरक्षक निकायले जनाएको छ। एक व्यक्तिलाई अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको जिम्मा लगाइएको छ।

तीव्र वर्षा र तुफानसहितको शक्तिशाली हावाहुरीले दक्षिण क्यालिफोर्नियामा बाढी तथा समुद्री दुर्घटनाको जोखिम बढाएको समयमा घटना भएको हो।

दुर्घटनामा परेको डुङ्गा ‘पाङ्गा’ नामक खुला प्रकारको फिसिङ बोट हो, जसलाई तस्करहरूले प्रायः मानिस ओसारपसारका लागि प्रयोग गर्ने गर्दछन्।

भूमिगत मार्गहरू कडा सुरक्षा घेरामा रहेका कारण आप्रवासीहरू समुन्द्री मार्गलाई बढी प्रयोग गर्न थालेका छन्। मेक्सिकोबाट राति नै पाङ्गा डुङ्गाहरू छुट्ने र सयौँ किलोमिटर उत्तरतर्फ यात्रामा निस्कने गरेको पाइन्छ।

पछिल्ला वर्षहरूमा यस्तै समुद्री दुर्घटनाका धेरै घटनाहरू भएका छन्। गत मे महिनामा, अमेरिका–मेक्सिको सीमाबाट ५६ किलोमिटर उत्तरमा पाङ्गा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

सन् २०२३ मा, घना हुस्सुका बीच सान डिएगो तट नजिक दुई तस्करी डुङ्गा पुगेका बेला एउटा डुङ्गा पल्टिँदा आठ जनाको मृत्यु भएको थियो।

यो दुर्घटनालाई अमेरिकाको पानीमा भएको सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ। सन् २०२२ मा ३२ जना आप्रवासी बोकेर यात्रा गरेको डुङ्गा भीषण छालमा परेपछि तीन जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार सन् २०२३ मा विश्वभर करिब ९,००० मानिसले सीमा पार गर्ने क्रममा ज्यान गुमाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com