अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न इरान इच्छुक : होलान् त ट्रम्प तयार ?


प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

इरानले अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न तयार भएको बताएको छ। तर, वार्तामा “इज्जत र गरिमासहितको व्यवहार” हुनु पर्ने इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले बताएका छन्।

अराघचीले कूटनीति नै सम्बन्ध सुधार्ने एक मात्र उपाय भएको बताएका छन्। उनले अमेरिकासँग वार्ता पुनः सुरु गर्न मध्यपूर्वमार्फत नयाँ अनुरोधहरू आइरहेको बताएका छन्। अराघचीले इरानसँग कुनै “गोप्य आणविक स्थल” नरहेको दाबी गरेका छन्।

तर, उनले केही महिनाअघि अमेरिकाले बम वर्षा गराएका केही स्थलहरूमा सुरक्षा कारणले संयुक्त राष्ट्रसंघका निरीक्षकलाई तत्काल प्रवेश दिन नसकिने बताएका छन्।

परराष्ट्रमन्त्री अराघचीले इरान सैन्य र मनोवैज्ञानिक दुवै मोर्चामा झनै बलियो बनेको दाबी गरे। उनले भने, “युरेनियम प्रशोधन इरानको जन्मसिद्ध अधिकार हो, जुन हामीले कहिल्यै छोड्ने छैनौँ।” यही मुद्दा अघिल्ला वार्ताहरूमा मुख्य अवरोध बनेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र इरानबीच पाँच चरणको वार्ता गत १२ जुनमा आकस्मिक रूपमा टुङ्गिएको थियो। त्यसपछि इजरायलले अमेरिकाको सहयोगमा इरानी आणविक स्थलमा आक्रमण गर्ने भन्दै १२ दिनसम्म युद्ध चलेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक स्थल “ध्वस्त पारिएको” दाबी गरेका थिए।

इरानी अधिकारीहरूका अनुसार अघिल्ला वार्तामा युरेनियम प्रशोधनको विवाद “समाधान” नजिक थियो। समझदारी: इरानमै एक संयुक्त समूह बनाउने, जसमा अमेरिकी संलग्नता पनि रहने। यसबाट इरानले स्वदेशमै प्रशोधन जारी राख्न पाउने र अमेरिका कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेकोमा विश्वस्त हुन सक्ने देखिएको थियो।

ट्रम्पले गत हप्ता इरान वार्ता पुनः सुरु गर्न इच्छुक भएको सन्देश पाएको बताएका थिए। तर, इरानी अधिकारीहरूका अनुसार अमेरिकाबाट प्रत्यक्ष वा कतार, इजिप्ट, ओमान, साउदी जस्ता क्षेत्रीय मध्यस्थमार्फत “औपचारिक प्रस्ताव” आएको छैन।

परराष्ट्रमन्त्री अराघचीले इरानका सबै रक्षा क्षमताहरू पुनर्स्थापित भएको दाबी गरेका छन्। उनले युद्धले धेरै पाठ सिकाएको र कमजोरी तथा शत्रुको कमजोरी दुवैका विषयमा जानकार बनाएको बताए। उनले इजरायल-अमेरिकी आक्रमणले इरानको आणविक प्रविधिलाई नष्ट गर्न नसकेको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com