क्षतिपूर्ति दिन बीबीसीले अस्वीकार गरेपछि कानुनी कारबाही गर्ने ट्रम्पको घोषणा


प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन्।

बीबीसीको ‘पानोरामा’ कार्यक्रमले आफ्नो भाषणलाई सम्पादन गरेको तरिकाप्रति आपत्ति जनाउँदै उनले कानुनी कारबाही गर्ने घोषणा गरेका हुन्। बीबीसीले गल्ती स्वीकार्दै माफी मागेको थियो तर आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेको छ।

‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बीबीसीविरुद्ध अर्को सातासम्ममा एकदेखि पाँच अर्ब डलरसम्मको मुद्दा हाल्ने बताए।

बीबीसीले ६ जनवरी २०२१ मा ट्रम्पले दिएको भाषणको सम्पादनले “ट्रम्पले हिंसात्मक कदम चाल्न प्रत्यक्ष आह्वान गरेको भनी गलत बुझाइ दिएको” स्वीकार गर्दै माफी मागेको थियो।

तर क्षतिपूर्ति दिन नमान्दा विवाद चर्किएको हो। यस घटनाका कारण बीबीसीका महानिर्देशक टिम डेभी र न्युज प्रमुख डेबराह टर्नेसले राजीनामा दिएका छन्।

ट्रम्पले भने, “उनीहरूले धोका दिए। मेरा मुखबाट निस्केका शब्द नै परिवर्तन गरे।” उनले यो विषयबारे ब्रिटिश प्रधानमन्त्री किर स्टार्मरसँग भने कुरा नभएको बताए।

यसअघि ट्रम्पका वकिलहरूले बीबीसीलाई एक अर्ब डलर क्षतिपूर्ति माग्दै चेतावनी पत्र पठाएका थिए।

तर हालसम्म कुनै मुद्दा दायर नभएको अमेरिकी अदालतका सार्वजनिक अभिलेखले देखाउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जुलाईमा सीबीएसको मालिक ‘प्यारामाउन्ट ग्लोबल’ ले कमला ह्यारिससँगको अन्तर्वार्तासम्बन्धी विवादमा ट्रम्पसँग सोह्र मिलियन डलर बराबरको सम्झौता गरेको थियो।

ट्रम्पले भने, “यदि यस्तो पुनः नहोस् भन्नका लागि पनि मुद्दा हाल्नैपर्छ।”

यसैबीच, २०२२ मा ‘न्यूजनाइट’ मा प्रसारित ट्रम्पको भाषणको अर्को सम्पादित क्लिप समेत बाहिरिएपछि विवाद थप चर्किएको हो।

बीबीसीका वकिलहरूले ट्रम्पका कानुनी टोलीलाई पठाएको पत्रमा पाँच प्रमुख कारण उल्लेख गर्दै आफूविरुद्ध मानहानिको दाबी लागू नहुने तर्क गरेका छन्।

बीबीसी अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई छुट्टै पत्र लेखेर सम्पादनबारे व्यक्तिगत रूपमा माफी मागेको पनि बीबीसीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com