ट्रम्पसँग व्यापार तनावका बीच जी ७ देशका विदेशमन्त्रीहरू क्यानडामा भेट्दै


प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले जी ७ मा आवद्ध देशहरु र अन्य केही थप देशहरुका विदेशीमन्त्रीहरुसित सुरक्षा, आपसी सम्बन्ध र आर्थिक व्यवस्थाहरुबारे छलफल गर्दै छिन् । अमेरिका र क्यानडाजस्ता परम्परागत सहयोगीहरूबीच रक्षा खर्च, व्यापार, राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्धविराम योजना र रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरूलाई लिएर तनाव बढिरहेका बेला यो बैठक भइरहेको छ ।

जी ७ राष्ट्रहरु फ्रान्स, जर्मनी, इटाली, जापान, यूके, अमेरिका तथा युरोपियन युनियनसमेतका विदेशमन्त्रीहरु यसबारेका महत्वपूर्ण एजेण्डाहरुमाथि छलफल गर्न क्यानाडामा भेला भएका छन् । जी ७ मा आवद्ध देशहरुबाहेकलाई पनि छलफलमा बोलाइएको छ । अष्ट्रेलिया, ब्राजिल, मेक्सिको, साउदी अरेबिया, दक्षिण कोरिया, युक्रेन र भारतलाई पनि आमन्त्रण गरिएको आयोजकले जानकारी दिएको छ ।

यस अघि क्यानाडामा जी ७ राष्ट्रहरुको शिखर सम्मेलन आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको सो शीखर सम्मेलनमा शान्ति, सुरक्षा र अर्थतन्त्रको दिगोपना र आर्थिक वृद्धि लगायतका एजेण्डाहरुमाथि छलफल भएको थियो ।

गत जुनमा क्यानडाको जी सेभेन शिखर सम्मेलनका क्रममा विश्वका नेताहरु । फोटो : युरोपियन युनियन

जुनको १५ देखि १७ सम्म आयोजित सम्मेलनका क्रममा जी ७ मा सहभागी नेताहरुले मध्यपूर्वमा युद्ध विरामको आह्वान गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले विभिन्न देशमाथि आयातमा लगाउँदै आएका करको दर बढाएको विषयमा समेत चर्चा भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानाडाले गर्ने आयातहरुमा भारी मात्रामा कर लगाएपछि अमेरिका र क्यानाडाबीचको सम्बन्ध पनि चिसिँदै गएको सन्दर्भमा आयोजित यो बैठक यिनै करका सन्दर्भमा पनि केन्द्रीत हुने अनुमान विश्लेषकहरुको छ । रक्षा खर्चका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।

भोलि अमेरिका, कोरिया, युक्रेन, साउदी अरेबिया र इटालीसित द्विपक्षीय हित र सरोकारका सवालमा वार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै सुरक्षा र उर्जा लगायतका विषयहरुमा पनि छलफलहरु हुने छन् ।

गाजामा इजरायल-हमास युद्धलाई लिएर पनि जी७ मा असहमतिहरू रहेका छन्, जसमा बेलायत, क्यानडा र फ्रान्सले द्वन्द्वको समाधान नभए पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन्। रुस-युक्रेन युद्धमा, ट्रम्पले लिएको अडानभन्दा धेरैजसो जी७ सदस्यहरूले रुसविरुद्ध कडा अडान लिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com