अमेरिकी विमानवाहक युद्धपोत क्यारेबियन सागरमा पुगेपछि तनाव बढ्दै


प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

a large ship in the water

फोटो: विलियम रुडोल्फ/अनस्प्ल्यास

अमेरिकी विमानवाहक युद्धपोत क्यारेबियन सागरमा पुगेपछि क्षेत्रीय तनाव बढेको छ ।

अमेरिकी नौसेनाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत ‘यूएसएस जेराल्ड आर. फोर्ड’ केन्द्रित नौसैनिक स्ट्राइक फोर्स क्यारेबियन क्षेत्रमा पुगेको पुष्टि गरेको हो ।

गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त युद्ध समूहलाई क्यारेबियन पठाउने आदेश दिएका थिए ।

मादक पदार्थ (लागूऔषध) बोकेका डुङ्गाहरू विरुद्धका आक्रमणहरू बढेको र भेनेजुएलासँग बढ्दो तनावको बीचमा यो तैनाथी देखिएपछि सो क्षेत्रमा तनाव बढेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले अहिलेसम्म क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ वटा डुङ्गामाथि आक्रमण गरेको छ । ती आक्रमणमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र अन्य अधिकारीहरूले अमेरिकामाथि “सङ्कट सिर्जना गरेको” र आफ्नो सरकारलाई “ढाल्ने प्रयास गरेको” आरोप लगाएका छन्।

ट्रम्प प्रशासन र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोबीचमा पनि सम्बन्धमा तनाब देखिएको छ । ट्रम्पले पेत्रोलाई “ठग र खराब व्यक्ति” भन्दै आलोचना गरेका थिए।

पेत्रोले आफ्ना सुरक्षा निकायहरूलाई अमेरिकी निकायहरूसँगको सूचनाको आदानप्रदान स्थगित गर्न आदेश दिएका छन् ।

अमेरिकी नौसेनाले स्ट्राइक समूह नोभेम्बर ११ मा अमेरिकी साउथर्न कमाण्डको जिम्मेवारी क्षेत्र (ल्याटिन अमेरिका र क्यारिबियन) भित्र प्रवेश गरेको बताएको छ ।

उक्त फोर्समा ‘यूएसएस जेराल्ड आर. फोर्ड’ विमानवाहक युद्धपोत सहित ४,००० भन्दा बढी नौसैनिक र दर्जनौँ विमान छन् । साथै, गाइडेड-मिसाइल विध्वंसक र अन्य विभिन्न युद्धपोतहरू पनि समावेश छन्।

पेन्टागनका प्रवक्ता सीन पारनेलले भने, “यो फोर्सले अवैध गतिविधि पत्ता लगाउने, निगरानी गर्ने र रोक्ने अमेरिकी क्षमतालाई सुदृढ पार्नेछ ।” मादक पदार्थ तस्करी तथा आपराधिक समूहहरूलाई विघटन गर्न सहयोग पुराउने उनको दाबी रहेको छ ।

क्यारिबियन क्षेत्रमा यसअघि नै हजारौँ अमेरिकी सैनिक, एक आणविक शक्ति सम्पन्न पनडुब्बी र प्युर्टो रिकोस्थित सैन्य विमानहरू रहेका छन् । यो दशकौँपछि ल्याटिन अमेरिकामा देखिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com