अमेरिकी सरकार सटडाउन अन्त्यको बाटो खुल्यो, सिनेटद्वारा अस्थायी खर्च विधेयकको पक्षमा मतदान
प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार
अमेरिकी सिनेटले ऐतिहासिक सरकारी बन्द अन्त्य गर्न प्रस्तावित अस्थायी खर्च विधेयकको पक्षमा मतदान गरेको छ। देशको इतिहासमा सबैभन्दा लामो संघीय सरकार बन्द अन्त्य गर्ने विधेयकमा सिनेटले महत्वपूर्ण मतदान गरेको हो।
सिनेटले ६०–४० को मतान्तरले संघीय सरकार पुनः सञ्चालन गर्ने दिशामा एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सिनेटका आठ जना मध्यमार्गी डेमोक्र्याट सदस्यहरूले सिनेटका रिपब्लिकन नेताहरू र ह्वाइट हाउससँग सम्झौता गरेपछि यो मतदान भएको थियो।
उक्त सम्झौताअनुसार सरकार तत्काल पुनः सञ्चालन गरिनेछ भने अफोर्डेबल केयर एक्ट अन्तर्गतका स्वास्थ्य बीमा अनुदान (सब्सिडी) विस्तारबारे पछि छुट्टै मतदान गरिनेछ।
यस सम्झौताले देशको लामो समयदेखि चलिरहेको सरकारी बन्द अन्त्य गर्ने तर्फ मार्ग खोलेको छ। तर डेमोक्र्याटहरूको एक समूहले यसलाई “अस्थायी समाधान” भन्दै अझै असन्तुष्टि जनाएका छन्।
यो विधेयकले सरकारलाई पुनः सञ्चालन गर्न अस्थायी बजेट उपलब्ध गराउनेछ। तर डेमोक्र्याटहरूले माग गर्दै आएका स्वास्थ्य बीमा अनुदान अर्थात् सब्सिडी विस्तार भने यसमा समावेश गरिएको छैन।
सिनेट बहुमत नेता जोन थुनले प्रतिनिधिसभाबाट पारित अस्थायी खर्च विधेयकमा संशोधन गरी छोटो अवधिको अर्को खर्च योजना र तीन पूर्ण वर्षका विनियोजन विधेयकहरू समावेश गर्ने बताएका छन्। उक्त प्याकेज प्रतिनिधिसभाबाट पुनः पारित भएर राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि पठाइनेछ।
तर डेमोक्र्याटहरूले सरकार पुनः सञ्चालन गर्ने प्रस्तावमा अवरोध गर्दै रिपब्लिकनहरूलाई स्वास्थ्य बीमा अनुदान विस्तार गर्न दबाब दिइरहेका छन्। थुनका अनुसार हालको सम्झौताअन्तर्गत स्वास्थ्य अनुदानबारे पछि छुट्टै मतदान गरिनेछ।
सिनेटका प्रगतिशील डेमोक्र्याट नेताहरू एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सले यो सम्झौताप्रति कडा असहमति जनाएका छन्। प्रतिनिधिसभामा पनि डेमोक्र्याटहरू असन्तुष्ट छन्।
फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले भने, “मेरो क्षेत्रमा १ लाख ८९ हजार नागरिकहरूलाई स्वास्थ्य बीमामा ५० देखि ३०० प्रतिशतसम्म बढी तिर्नुपर्नेछ।”
सरकार बन्द भएको ४० औँ दिन भएको छ। यसले हजारौँ संघीय कर्मचारीहरूलाई निष्क्रिय बनाएको छ। खाद्य सहायता, पार्क र हवाई यात्रा अवरुद्ध भएका छन्। हवाई यातायात नियन्त्रणमा कर्मचारी अभावले आगामी थ्याङ्क्सगिभिङ (नोभेम्बर २७) मा यात्रा सङ्कट बढ्न सक्छ।
रिपब्लिकन सिनेटर थोम टिलिसले भने, लामो बन्दका प्रभावले अन्ततः सम्झौता गर्न बाध्य बनाएको हो। उनको भनाइमा, अन्तिम प्रस्तावले जनवरीको अन्त्यसम्म सरकार सञ्चालन गर्न अनुमति दिनेछ र ट्रम्प प्रशासनले गरेको केही ठूला कर्मचारी कटौती पनि उल्टाउनेछ।
विशेषज्ञहरूले अहिलेका सब्सिडीहरू वर्षअन्त्यसम्म विस्तार भएनन् भने २०२६ का ओबामाकेयर बीमा योजनाका मासिक प्रिमियमहरू दोब्बरभन्दा बढी बढ्ने सम्भावना रहने चेतावनी दिएका छन्।








