अमेरिकामा सटडाउनको असर: १,४०० उडान रद्द


प्रकाशित मिति : कार्तिक २२, २०८२ शनिबार

संघीय सरकार बन्द हुँदा अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द भएका छन्।

लामो अवरोधका कारण शनिबार अमेरिका बाहिर र भित्र गरी १,४०० भन्दा बढी उडान रद्द भएका हुन्।

एयरलाइन्सलाई यस सातादेखि नै उडान संख्यामा कटौती गर्न संघीय विमानन प्रशासन (एफएए) ले निर्देशन दिएको थियो।

फ्लाइट ट्र्याकिङ साइटका अनुसार शनिबार करिब ६,००० उडान ढिलो भएका छन्। शुक्रबार ७,००० उडान ढिलाइ भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी बन्दका बीचमा तलबबिना काम गरिरहेका हवाई यातायात नियन्त्रकहरू थकान र तनावबाट ग्रस्त भइरहेका भन्दै एफएएले यसै हप्ता देशका ४० व्यस्त विमानस्थलमा हवाई यातायात क्षमता १० प्रतिशतसम्म घटाइने बताएको थियो।

अक्टोबर १ देखि सुरु भएको संघीय सरकार बन्द ३९औं दिनमा प्रवेश गरेको छ। यो बन्द अमेरिकी इतिहासकै सबैभन्दा लामो बन्दको रूप लिएको छ। तर, रिपब्लिकन र डेमोक्र्याट सांसदहरूबीच अझै बजेट सम्झौतामा सहमति हुन सकेको छैन।

सबैभन्दा बढी उडान रद्द हुने विमानस्थलहरूमा चार्लोट डगलस इन्टरनेशनल, न्यूआर्क लिबर्टी, र सिकागो ओ’हेयर इन्टरनेशनल रहेका छन्।

नोभेम्बर २७ मा पर्ने थ्याङ्क्सगिभिङ पर्व नजिकिँदै गर्दा अमेरिकामा यात्रुहरूको भीड तीव्र हुँदै गएको छ। यस्तोमा उडान कटौतीले यात्रुहरूलाई थप समस्या हुने देखिएको छ।

हवाई यातायात नियन्त्रकहरू अत्यावश्यक सेवाका कर्मचारी भएकाले उनीहरूले तलबबिना काम गर्नुपर्ने बाध्यता छ।

श्रमिक संघहरूका अनुसार धेरैजसो नियन्त्रकहरूले जीविकोपार्जनका लागि दोस्रो रोजगार लिनुपरेको देखिएको छ।

यातायात सुरक्षामा खटिएका ६४,००० कर्मचारीहरूले पनि तलबबिना काम गरिरहेका छन्।

अमेरिकन एयरलाइन्स ले विज्ञप्ति जारी गर्दै तत्काल समाधान निकाल्न आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com