मस्कलाई दिइने १ ट्रिलियन डलरको तलब प्याकेज टेस्लाद्वारा स्वीकृत


प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार

शेयरधनीहरूले टेस्ला प्रमुख एलन मस्कलाई दिन करिब १ ट्रिलियन डलर बराबरको ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्।

यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ। अमेरिकाको टेक्सासको अस्टिनमा भएको टेस्लाको वार्षिक साधारण सभामा उक्त निर्णय भएपछि उपस्थितहरूले ताली बजाउँदै उत्साह व्यक्त गरेका थिए।

संसारकै सबैभन्दा धनी व्यक्ति बनेका मस्कले यो तलब पाउनका लागि अर्को १० वर्षभित्र टेस्लाको बजार मूल्य अहिलेको करिब १.४ ट्रिलियन डलरबाट ८.५ ट्रिलियन डलर पुर्याउनुपर्नेछ।

त्यसका साथै, उनले १० लाख सेल्फ ड्राइभिङ “रोबोट्याक्सी” सवारी साधनलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ। यी लक्ष्यहरू पूरा भएमा मस्कलाई करोडौँ नयाँ टेस्ला शेयरहरू पुरस्कारस्वरूप प्रदान गरिनेछ।

यो विशाल तलब प्याकेजको आलोचना पनि भएको छ। तर, टेस्ला बोर्डले यो प्रस्ताव अस्वीकृत भएमा मस्कले कम्पनी छोड्न सक्ने जोखिम रहेको र “टेस्ला मस्कजस्ता नेतृत्वकर्तालाई गुमाउने स्थितिमा छैन” भन्ने तर्क गरेको छ।

मतदान परिणाम घोषणा भएपछि मस्कले टेस्लाको भविष्यको नयाँ अध्याय होइन, पूरै नयाँ किताब लेख्न लागेको प्रतिक्रिया दिएका छन्। तर, अमेरिकी नियामकहरूले टेस्लाको सेल्फ ड्राइभिङ सुविधामाथि अनुसन्धान गरिरहेका छन्। किनकि गाडीले रातो बत्ती काट्ने, गलत लेनमा चल्ने र दुर्घटना हुने घटनाहरू बढेका छन्।

टेस्लाको शेयर मूल्य पछिल्ला छ महिनामा ६२ प्रतिशतले बढेको छ । विशेषगरी मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको राजनीतिक निकटता देखाएपछि बिक्री भने घटेको छ।

मस्कले हाल टेस्लाको करिब १३ प्रतिशत शेयर नियन्त्रणमा राखेका छन्। यसअघि पनि उनले कम्पनीको मूल्य १० गुणा बढाएपछि अर्बौँ डलरको बोनस पाउने योजना तयार गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, बोर्डका सदस्यहरू मस्कसँग “अत्यधिक नजिक” रहेको भन्दै डेलावेयर राज्यका न्यायाधीशले उक्त सम्झौता खारेज गरेका थिए। त्यसपछि टेस्लाले आफ्नो कम्पनी मुख्यालय डेलावेयरबाट टेक्सास सारेको थियो।

डेलावेयरको सर्वोच्च अदालतले हाल सो मुद्दाको पुनरावलोकन गरिरहेको छ। नयाँ तलब प्याकेजका विरोधीमध्ये विश्वकै सबैभन्दा ठूलो सम्पत्ति कोष (नर्वेको सार्वभौमिक सम्पत्ति कोष), र अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक पेन्सन कोष पनि थिए। यसले मस्कलाई साना (रिटेल) लगानीकर्ताहरूको समर्थनमा बढी निर्भर बनाएको थियो।

पछिल्ला हप्ताहरूमा टेस्लाका बोर्ड सदस्यहरूले मस्कको पक्षमा प्रचार अभियानसमेत चलाएका थिए। यस निर्णयले टेस्लामा मस्कको प्रभाव झनै मजबुत बनाएको छ र कम्पनीको भविष्यलाई एआई र रोबोटिक्सको दिशामा धकेल्ने संकेत दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com