भर्जिनियाको गभर्नरमा डेमोक्र्याट उम्मेदवारको जित
प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार
अमेरिकाको भर्जिनिया राज्यको गभर्नरमा डेमोक्र्याट उम्मेदवार एबिगेल स्प्यानबर्गरले ऐतिहासिक जित दर्ता गरेकी छिन्।
डेमोक्र्याट एबिगेल स्प्यानबर्गरले निर्वाचनमा रिपब्लिकन उप–गभर्नर विन्सम अर्ल–सियर्सलाई पराजित गर्दै भर्जिनियाको गभर्नर पदमा ऐतिहासिक जित हासिल गरेकी हुन्। उनी भर्जिनियाको इतिहासमा गभर्नर बन्ने पहिलो महिला हुन्।
स्प्यानबर्गरको जितसँगै डेमोक्र्याटहरूले गभर्नरको कार्यालयमाथिको नियन्त्रण पुनः हासिल गरेका छन्। उनी रिपब्लिकन गभर्नर ग्लेन यङ्किनपछि पदभार सम्हाल्नेछिन्।
डेमोक्र्याट गजाला एफ हाश्मीले पनि उप–गभर्नरको चुनाव जितेकी छिन्। हाश्मी अमेरिकामा राज्यस्तरीय पदमा निर्वाचित हुने पहिलो मुस्लिम महिला बनेकी छिन्।
यो निर्वाचन डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पुनः फर्केपछि भएको पहिलो राज्य तथा स्थानीय चुनाव हो, जसले २०२६ को मध्यावधि चुनावतर्फ डेमोक्र्याटहरूलाई बलियो सन्देश दिएको देखिएको छ।
पूर्व कांग्रेस सदस्य र सीआईएका पूर्व अधिकारी स्प्यानबर्गरले आफ्नो अभियानमा मुख्य रूपमा आर्थिक मुद्दाहरूलाई जोड दिइन्। उनले ट्रम्प प्रशासनका नीतिहरू भर्जिनियाको अर्थतन्त्रका लागि हानिकारक भएको बताउँदै मतदातालाई आकर्षित गरेकी थिइन्।
उनले गर्भपतन अधिकारको समर्थन, सङ्घीय सरकारको बन्दी र ट्रम्पको प्रशासनिक पुनर्संरचनाको नकारात्मक प्रभावविरुद्ध चुनावमा कडा आवाज उठाएकी थिइन्।
उनको सन्तुलित रणनीतिले डेमोक्र्याट समर्थक मात्र नभई स्विङ मतदातालाई पनि आकर्षित गरेको देखिएको छ। रिपब्लिकन पार्टीका लागि यो चुनाव गम्भीर हार हो। अर्ल–सियर्सलाई ट्रम्पले आंशिक समर्थन मात्र दिएका थिए।
४६ वर्षीया स्प्यानबर्गरले सीआईएमा सेवा गरेकी थिइन्। कांग्रेसमा रहँदा दुवै दलका सदस्यहरूसँग काम गरेकी थिइन्।
उनको अभियानले २०१८ को मध्यावधि चुनावमा डेमोक्र्याटहरूले सदनको नियन्त्रण फिर्ता ल्याउँदा अपनाएको “मध्यमपन्थी र व्यावहारिक” शैलीलाई सम्झाएको छ।
यो निर्वाचनको परिणामले २०२६ को मध्यावधि चुनावमा डेमोक्र्याटहरूको रणनीति तय गर्ने देखिएको छ।








