अमेरिकामा एफबीआई निर्देशक पटेलसँगको विवादपछि वरिष्ठ अधिकारी बर्खास्त
प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार
फोटो :बेन कर्टिस/ एपी
अमेरिकी संघीय अनुसन्धान संस्था (एफबीआई) का एकजना वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको छ।
२७ वर्षदेखि कार्यरत रहेका ती वरिष्ठ अधिकारीलाई निकायबाट हटाइएको हो। एफबीआईका निर्देशक काश पटेलसँगको विवाद (रिसिवी) पछि वरिष्ठ अधिकारी स्टीवन पाल्मरलाई पदबाट हटाइएको बताइएको छ।
उनी सन् १९९८ देखि एफबीआईमा कार्यरत थिए। उनी एफबीआईको क्रिटिकल इन्सिडेन्ट रिस्पोन्स ग्रुपका प्रमुख थिए। यो समूहले ठूला सुरक्षा संकटहरूमा प्रतिक्रिया जनाउने र निकायका विमानहरूको अवस्था हेर्ने जिम्मेवारी लिएको छ।
पटेल फेब्रुअरीमा एफबीआई निर्देशक बनेका थिए। उनले आफ्नो कार्यकाल सुरु गरेपछि पाल्मर यो इकाईका तेस्रो प्रमुख हुन् जसलाई हटाइएको छ।
पाल्मरलाई पटेलको आक्रोशपछि पदबाट हटाइएको हो। पटेलले सरकारी जेट प्रयोग गरी आफ्नी प्रेमिका, गायक एलेक्सिस विल्किन्सले राष्ट्रगान गाएको रेस्लिङ कार्यक्रममा सहभागी हुन गएको सूचना बाहिर आएपछि उनी क्रुद्ध बनेका थिए।
समाचार प्रकाशनपछि पाल्मरलाई “तुरुन्त राजीनामा देऊ वा निकालिन्छौ” भन्ने चेतावनी दिइएको थियो। अन्ततः उनको बर्खास्ती औपचारिक रूपमा घोषणा गरियो।
फ्लाइट अवेयरमा सार्वजनिक रूपमा उपलब्ध उडान विवरण अनुसार, एफबीआईको जेट अक्टोबर २५ मा पेन्सिल्भेनिया राज्यको विमानस्थलमा अवतरण भएको देखिन्छ।
सोही रात विल्किन्सले रियल अमेरिकन फ्रीस्टाइल रेस्लिङ कार्यक्रममा राष्ट्रगान गाएकी थिइन्। त्यसपछि विमान नासभिलतर्फ उडेको थियो।
पटेलले एक्स मा वक्तव्य प्रकाशित गर्दै आफू “आधारहीन हल्ला र झुटा समाचारबाट विचलित नहुने” बताएका छन्। उनले आफ्नो निजी जीवन र प्रेमिकामाथि गरिएको आक्रमणलाई “लाजमर्दो र देशद्रोही चरित्रको” भनेका छन्।
सरकारी नियमअनुसार एफबीआई निर्देशकले निजी उडानको खर्च आंशिक रूपमा तिर्नुपर्ने हुन्छ। पटेलले आफ्ना पूर्ववर्ती क्रिस रे र जेम्स कोमी भन्दा “व्यक्तिगत यात्रामा निकै कटौती” गरेको दाबी उनका प्रवक्ता बेन विलियमसनले गरेका छन्।
पाल्मरभन्दा अघि, मार्चमा वेस व्हिलर र अगस्टमा ब्रायन ड्रिस्कललाई पनि पटेलले पदमुक्त गरेका थिए। ड्रिस्कलले हाल ट्रम्प प्रशासनविरुद्ध “अन्यायपूर्ण बर्खास्ती” भन्दै मुद्दा हालेका छन्।
पटेलको विमान प्रयोगबारे पहिलोपटक जानकारी पूर्व एफबीआई एजेन्ट काइल सेराफिनले दिएका थिए, जसको पोडकास्ट ट्रम्प प्रशासनमाथि तीव्र आलोचनात्मक रहँदै आएको छ।
अहिले अमेरिकी सरकार बन्द अवस्थामा रहेको बेला प्रेमिकासँग विमानमा सयर गरेको भन्दै पटेलको आलोचना भइरहेको छ।








