गर्भावस्थामा आमालाई कोभिड–१९ संक्रमण भए सन्तानमा अटिजमको उच्च जोखिम


प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

गर्भावस्थामा आमालाई कोभिड–१९ संक्रमण भए सन्तानमा अटिजम र मस्तिष्कसम्बन्धी समस्या देखिने जोखिम बढ्ने अध्ययनले देखाएको छ।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनअनुसार गर्भावस्थामा आमालाई कोभिड–१९ संक्रमण भएको अवस्थामा जन्मिएका बच्चाहरूमा अटिजम र अन्य स्नायु–विकाससम्बन्धी विकारको जोखिम उल्लेखनीय रूपमा बढ्ने देखिएको हो।

अध्ययनले मार्च २०२० देखि मे २०२१ सम्म मास जनरल ब्राइघम स्वास्थ्य प्रणालीमा भएका १८ हजारभन्दा बढी जन्महरूको विश्लेषण गरेको हो। मास जनरल ब्राइघम भनेको अमेरिकाको म्यासाचुसेट्स राज्यमा अवस्थित एउटा ठूलो स्वास्थ्य सेवा सञ्जाल हो।

अनुसन्धानकर्ताहरूले ती आमाहरूमा प्रयोगशालामा ‘पोष्ट कोभिड–१९’ परीक्षणको रेकर्ड र जन्मिएका बच्चाहरूको ३ वर्षको उमेरसम्मको स्नायु–विकाससम्बन्धी स्वास्थ्य अभिलेखको मूल्याङ्कन गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गर्भावस्थामा कोभिड–१९ संक्रमण भएकी आमाका बच्चाहरूमा न्युरो–डेभलपमेन्टल विकार पत्ता लगाउने सम्भावना १६ प्रतिशतभन्दा बढी देखिएको छ। संक्रमण नभएकी आमाका बच्चाहरूमा यो दर १० प्रतिशतभन्दा कम देखिएको थियो। अन्य जोखिमहरूलाई समायोजन गरेपछि पनि जोखिम १.३ गुणा बढी देखिएको अध्ययनको परिणामले देखाएको छ।

अध्ययनले यो जोखिम विशेषगरी छोरा बच्चाहरूमा बढी देखाएको छ र गर्भावस्थाको तेस्रो त्रैमासिकमा संक्रमण भएको अवस्थामा बढी जोखिम देखिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार पुरुष भ्रूणको मस्तिष्क आमाको प्रतिरक्षा प्रतिक्रियाबाट बढी प्रभावित हुने सम्भावना हुन्छ। तेस्रो त्रैमासिक मस्तिष्क विकासको “महत्त्वपूर्ण चरण” हो।

सबैभन्दा धेरै देखिएका समस्या भाषा र चालचलन विकासका विकारहरू र अटिजम थिए।

गर्भावस्थामा कोभिड–१९ संक्रमण भएकी आमाका करिब २.७५ प्रतिशत बच्चाहरूमा अटिजम देखा परेको देखिएको छ। संक्रमण नभएकी आमाका बच्चाहरूमा यो दर १.१५ प्रतिशत मात्र छ।

तर नयाँ अध्ययन कोभिड–१९ को प्रत्यक्ष संक्रमणको जैविक प्रभावमा केन्द्रित छ। यसको डेटा त्यही समयमा सङ्कलन गरिएको थियो जब खोप अझै व्यापक रूपमा उपलब्ध भएको थिएन।

अनुसन्धानका अनुसार, अध्ययनमा समावेश ९३ प्रतिशत आमाहरूले कोभिड–१९ खोप लगाएका थिएनन्। यो अध्ययन ‘अब्स्टेट्रिक्स एन्ड गाइनिकोलोजी’ पत्रिकामा छापिएको हो।

मुख्य लेखक तथा मातृ–भ्रूण विशेषज्ञ डा. लिडिया शुकले “गर्भावस्थामा कोभिड–१९ संक्रमणपछि बच्चामा देखिन सक्ने मानसिक वा न्युरो–डेभलपमेन्टल समस्याबारे अभिभावक सचेत हुनु जरुरी रहेको” बताइन्। समयमै जोखिम बुझेर अभिभावकहरूले बच्चाका लागि आवश्यक मूल्याङ्कन र सहयोग खोज्न सक्ने उनको भनाइ छ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सीडीसी) का अनुसार, सन् २०२२ सम्म प्रत्येक ३१ मध्ये १ जना बालबालिकामा अटिजम पत्ता लागेको छ। सन् २०२० मा यो अनुपात ३६ मध्ये १ थियो।

यो वृद्धि मुख्यतया अटिजमबारे जनचेतना र स्क्रिनिङ सुधारसँग सम्बन्धित मानिएको छ। यसै वर्ष, अमेरिकी स्वास्थ्य मन्त्रालयले “अटिजम महामारीको कारण” पत्ता लगाउने भन्दै ठूलो स्तरको परीक्षण र अनुसन्धान अभियान सुरु गरेको छ।

सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले “अटिजमको कारण” विषयमा आयोजित पत्रकार सम्मेलनमा गर्भावस्थामा ‘टाइलेनोल’ सेवनले अटिजमको जोखिम बढाउँछ भनेका थिए। यद्यपि विगतका दशकौँको अनुसन्धानले यसको प्रमाण नदेखाएको वैज्ञानिकहरूले बताएका छन्।

स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरले पनि अटिजम र खोपबीचको सम्बन्धबारे विवादास्पद टिप्पणी गर्दै आएका छन्। यो टिप्पणीलाई वैज्ञानिक रूपमा खण्डन गरिएको छ। एजेन्सीहरुको सहयोगमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com