अमेरिकामा लागूऔषध कारोबारीसँग घूस लिएको आरोपमा सुरक्षा अधिकारीहरू नै पक्राउ


प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार

अमेरिकाको मिसिसिपी र टेनेसीमा २० जना अधिकारीमाथि लागूऔषध व्यापारीहरूसँग घूस लिएको आरोप लागेको छ।

मिसिसिपी र टेनेसीका १४ जना बहालवाला तथा पूर्व कानुन कार्यान्वयन अधिकारीसहित २० जनामाथि यो आरोप लागेको हो। उनीहरूले घूस लिएर लागूऔषध व्यापारीहरूलाई प्रहरी सुरक्षासमेत उपलब्ध गराएको आरोप छ।

अधिकारीहरूले यसलाई “सार्वजनिक विश्वासमाथिको ठूलो धोका” भनेर टिप्पणी गरेका छन्।

संघीय एजेन्सीहरूले वर्षौंको अनुसन्धानपछि उनीहरूविरुद्ध प्रमाण जुटाएका हुन् । अनुसन्धान अधिकारीहरूले अनुसन्धानको क्रममा आफूलाई लागूऔषध व्यापारीका रूपमा प्रस्तुत गरेका थिए। अभियुक्तमध्ये दुई जना मिसिसिपीका शेरिफ (काउन्टी प्रहरी प्रमुख) थिए।

संघीय अधिकारीहरूले यो “स्टिङ अपरेशन” वास्तविक लागूऔषध व्यापारीहरूले प्रहरीलाई घूस दिनुपर्ने गुनासो गरेपछि सुरु गरेका हुन्।

यो घूसको सञ्जाल मिसिसिपी डेल्टा क्षेत्रदेखि मेम्फिस (टेनेसी) र मियामी (फ्लोरिडा) सम्म फैलिएको अधिकारीहरूले बताएका छन्।

उत्तरी मिसिसिपीका अमेरिकी वकिल क्ले जोयनरले अनुसन्धान सुरु हुने प्रारम्भिक उजुरीहरू लागूऔषध व्यापारीहरूबाटै आएको बताएका छन्।

अभियोजकका अनुसार केही अधिकारीहरूले २० हजारदेखि ३७ हजार डलरसम्मको घूस लिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टिङ अपरेशनमा संघीय एजेन्टहरूले २५ किलो कोकिन रहेको जस्तो देखिने नक्कली लागूऔषधसहित आफूलाई व्यापारीका रूपमा प्रस्तुत गरेका थिए ।

उक्त लागूऔषधलाई अभियुक्तहरूले वास्तविक ठानेका थिए। कोकिन लागूपदार्थ (नशालु पदार्थ) हो, जुन अत्यधिक लत लगाउने र स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

एफबीआईका उप–निर्देशक एन्ड्र्यू बेलीले सुरक्षा अधिकारीहरूले “जनताको विश्वास बेचिदिएको” टिप्पणी गरेका छन्।

पछिल्ला गिरफ्तारीहरू अमेरिकाले दक्षिण अमेरिकामा लागूऔषध व्यापारीहरूविरुद्ध गरेको हवाई आक्रमणका बीचमा भएका हुन्।

अमेरिकाले क्यारेबियन क्षेत्र हुँदै भेनेजुएलाबाट अवैध रूपमा अमेरकातर्फ लागूऔषध भित्रिरहेको आरोप लगाउँदै क्यारेबियन क्षेत्रमा रहेका शंकास्पद डुङ्गामाथि हमला गरिरहेको छ।

सो क्रममा भएको दर्जनभन्दा बढी कारवाहीमा ६० जनाभन्दा बढीको ज्यान गइसकेको छ। क्यारेबियन क्षेत्रमा अमेरिकाले सबैभन्दा ठूलो युद्धपोतसमेत तैनाथ गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com