लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु


प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार

अवैध लागूऔषध ढुवानीमा संलग्न एक डुङ्गामाथि अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पूर्वी प्रशान्त महासागरमा लागूऔषध ढुवानीको शङ्का गरिएको एउटा डुङ्गामाथि अमेरिकाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा युद्ध मन्त्रालयले अर्को लागुऔषध तस्करी गर्ने डुङ्गामाथि घातक प्रहार गरेको पनि बताएका छन् ।

यसअघि, सोमबार पनि अमेरिकी सेनाले प्रशान्त महासागरमा लागूऔषध ढुवानीमा संलग्न शङ्कास्पद डुङ्गाहरूमाथि आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो ।

यी पछिल्ला आक्रमणहरू राष्ट्रपति ट्रम्पको प्रत्यक्ष निर्देशनमा भएका हुन् । ह्वाइट हाउसले पछिल्ला हमलाहरूलाई अमेरिकी सीमामा प्रशान्त र क्यारिबियन हुँदै आउने समुद्री लागूपदार्थ आपूर्ति रोक्ने अभियानको रूपमा व्याख्या गरेको छ ।

युद्धमन्त्रीका अनुसार आक्रमण अन्तर्राष्ट्रिय जल क्षेत्रमा गरिएको हो । अधिकारीहरूले आक्रमणको क्रममा अमेरिकी सैनिकलाई कुनै क्षति नपुगेको बताएका छन् ।

दुई महिनामा अमेरिकाले गरेका यस्ता आक्रमणहरूमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अमेरिका, कोलम्बिया र भेनेजुएलाबीचको सम्बन्धमा यी आक्रमणहरूले तनाव बढाएको देखिएको छ । आक्रमणपछि अमेरिकी कांग्रेसका दुवै दलका सांसदहरूले पनि राष्ट्रपति ट्रम्पको अधिकारमाथि प्रश्न उठाएका छन् ।

अमेरिकाले हाल क्यारिबियन क्षेत्रमा युद्धपोत, लडाकु विमान, मरीन फोर्स, जासुसी विमान, बमवर्षक र ड्रोनहरू तैनाथ गर्दै आएको छ । विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत त्यहाँ तैनाथ गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “लागूपदार्थ तस्करी सङ्गठनका नेता” भएको आरोप लगाउँदै आएका छन् ।

तर मादुरोले भने यसलाई अस्वीकार गरेका छन् । भेनेजुएलाका महान्यायाधिवक्ताले अमेरिकाले भेनेजुएलाका प्राकृतिक स्रोतहरू जस्तै सुन, तेल र तामाको भण्डार—हात पार्ने उद्देश्य राखेको आरोप लगाएका छन् ।

अमेरिकाले सन् २०२४ मा भेनेजुएलामा भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै मादुरोलाई वैधानिक राष्ट्रपति मान्न अस्वीकार गर्दै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com