अमेरिकामा बलात्कार र हत्याका दोषीलाई मृत्युदण्ड


प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार

अमेरिकाको फ्लोरिडामा बलात्कार र हत्या प्रकरणमा दोषी ठहर भएका व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।

तीन दशकअघि आफ्नै छिमेकीमाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर भएका पुरुषलाई मृत्युदण्ड दिइएको हो। यो वर्ष फ्लोरिडामा भएको यो १५ औँ मृत्युदण्ड हो।

६५ वर्षीय नर्मन मर्ल ग्रिम जुनियरलाई स्टार्कस्थित फ्लोरिडा स्टेट प्रिजनमा सुईमार्फत (औषधि प्रयोग गरेर) मृत्युदण्ड दिइएको गभर्नर रोन डेसान्टिसको कार्यालयले जनाएको छ।

ग्रिमलाई १९९८ मा सिन्थिया क्याम्पबेल नामकी छिमेकी महिलामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

ती महिला जुलाई १९९८ मा हराएकी थिइन्। उनको शव पेन्साकोला बे पुल नजिकै माछा मार्ने व्यक्तिले फेला पारेका थिए।

अभियोजकका अनुसार क्याम्पबेललाई ह्यामरले प्रहार गरिएको थियो। उनको छातीमा ११ पटक छुरा हानिएको थियो। डीएनए लगायतका प्रमाणहरूले ग्रिमलाई घटनासँग सम्बन्धित देखाएका थिए।

अमेरिकी सर्वोच्च अदालतले १९७६ मा मृत्युदण्ड पुनर्स्थापना गरेपछि फ्लोरिडामा एक वर्षमा सबैभन्दा धेरै मृत्युदण्ड २०१४ मा भएका थिए। त्यो बेला १४ जनालाई मृत्युदण्ड दिइएको थियो, तर यो वर्ष फ्लोरिडाले सबैभन्दा धेरै १५ जना दोषीलाई मृत्युदण्ड दिएको छ।

त्यसपछि टेक्सास र अलाबामामा पाँच–पाँच जनालाई मृत्युदण्ड दिइएको छ। अर्को महिना थप २ जनालाई मृत्युदण्ड दिने तयारी छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्युदण्डको मिति तय भएपछि दोषीहरूले फ्लोरिडा सुप्रीम कोर्ट र अमेरिकी सुप्रीम कोर्टमा अन्तिम अपील गर्न सक्छन्। तर ग्रिमले यो महिनाको सुरुमा आफ्ना सबै अपीलहरू (वा पुनरावेदन) फिर्ता लिएका थिए।

ग्रिमले अन्तिम भोजनका रूपमा फ्राइड पोर्क चप्स, म्यास्ड पोटाटो र चकलेट मिल्कशेक मागेका थिए।

यस वर्षसम्म अमेरिकामा ४० जनालाई अदालतको आदेशअनुसार मृत्युदण्ड दिइसकिएको छ। बाँकी १८ जनाको मृत्युदण्ड यो वर्षको अन्त्य र २०२६ भित्र तय गरिएको छ।

फ्लोरिडामा मृत्युदण्ड निद्रा लागाउने (सिडेटिभ), अचल बनाउने (प्यारालाइज गर्ने) र मुटु रोक्ने औषधिको संयोजनमार्फत दिइन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com