क्यानडाको विज्ञापनमा रेगनको भाषण सुनेपछि ट्रम्प आक्रोशित: १० प्रतिशत आयात शुल्क बढाउने घोषणा
प्रकाशित मिति : कार्तिक ८, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट अमेरिकामा आयात हुने वस्तुहरूमा लाग्ने शुल्क १० प्रतिशतले बढाउने घोषणा गरेका छन्।
उनले यो निर्णय क्यानाडाको ओन्टारियो प्रान्तले प्रसारण गरेको शुल्क विरोधी विज्ञापनप्रति असन्तुष्टि जनाउँदै गरेका हुन्।
विज्ञापनमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको सन् १९८७ को भाषणका अंशहरू प्रयोग गरिएको थियो। उक्त भाषणमा रेगनले “शुल्कले हरेक अमेरिकीलाई हानि पुर्याउँछ” भनेका थिए।
ट्रम्पले उक्त विज्ञापनलाई “ठगीपूर्ण” भन्दै क्यानाडाली अधिकारीहरूलाई दोष लगाएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “क्यानाडाले तथ्यहरूको गलत प्रस्तुति र शत्रुतापूर्ण कदम चालेको कारण, म अहिलेको दरभन्दा १० प्रतिशत बढी शुल्क थप्दैछु।”
उनले यो विज्ञापन “फ्रड” (धोका) भएको भन्दै यसलाई तुरुन्त हटाउनुपर्ने बताएका छन्।
विज्ञापन ‘वर्ल्ड सिरिज’ (विश्व शृंखला) मा चलिरहेकै बेला उनले एसिया भ्रमणको क्रममा उक्त निर्णय गरेका हुन्।
ट्रम्पले क्यानाडासँगको व्यापार वार्ता स्थगित गरेपछि ओन्टारियोका प्रिमियर (मुख्यमन्त्री) डग फोर्डले आफ्नो प्रान्तको विज्ञापन अभियान रोक्ने घोषणा गरेका छन्।
“प्रधानमन्त्री मार्क कार्नीसँगको छलफलपछि व्यापार वार्ता पुनः सुरु होस् भनेर हामीले विज्ञापन अभियान स्थगित गर्ने निर्णय गरेका हौँ,” उनले भने।
क्यानाडा अहिलेसम्म जी ७ देशहरूमध्ये एक मात्र राष्ट्र हो जसले ट्रम्प प्रशासनसँग नयाँ व्यापार सम्झौता गर्न सकेको छैन।
अमेरिकाले क्यानाडाका सामानहरूमा पहिले नै ३५ प्रतिशत सामान्य शुल्क, धातुमा ५० प्रतिशत र गाडीमा २५ प्रतिशत शुल्क लगाइसकेको छ। अब यी दरमा थप १० प्रतिशत अंकको वृद्धि हुने बताइएको छ।
क्यानाडाको ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा जाने भएकाले यो कदमले क्यानाडाली अर्थतन्त्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ। ओन्टारियो क्यानाडाको प्रमुख अटोमोबाइल उद्योग केन्द्र हो।
रोनाल्ड रेगन फाउन्डेसनले विज्ञापनमा रेगनको अडियो र भिडियो बिना अनुमति प्रयोग गरिएको भन्दै कडा आपत्ति जनाएको छ।
संस्थाले विज्ञापनलाई “भ्रामक र राजनीतिक दुरुपयोग” भनेको छ।
ट्रम्पले क्यानाडामाथि आगामी सर्वोच्च अदालतमा चल्ने मुद्दामा प्रभाव पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन्।
उक्त मुद्दाले ट्रम्पको शुल्क नीति संवैधानिक हो वा होइन भन्ने निर्णय गर्नेछ।
ट्रम्पका अनुसार, ओन्टारियोको विज्ञापन यस “महत्त्वपूर्ण मुद्दामा हस्तक्षेप” गर्नका लागि बनाइएको थियो।
क्यानाडियन चेम्बर अफ कमर्सले यो तनाव राजनीतिक वार्तामार्फत समाधान हुने अपेक्षा गरिएको बताएको छ।
ट्रम्पले शुल्क वृद्धि घोषणा गरेपछि दुई देशबीचको सम्बन्धमा नयाँ जटिलता थपिएको छ। यसले भविष्यका व्यापार वार्तामा प्रभाव पार्न सक्ने संकेत गरेको छ।








