रुसबाट तेल किन्ने कार्य रोक्न भारतले सहमति जनाएको अमेरिकी दाबी
प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार
अमेरिकाले रुसबाट तेल किन्ने कार्य रोक्न भारत सहमत भएको बताएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्ने कार्य रोक्ने सहमति जनाएको बताएका हुन् ।
यो कदम युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब बढाउने अमेरिकी प्रयासको हिस्साको रूपमा हेरिएको छ ।
भारतले रुसबाट तेल किन्ने कार्य चाँडै रोक्ने छ भनेर आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आश्वासन दिएको ट्रम्पले बताएका हुन् । उनले यसलाई ठूलो कदमको रूपमा अर्थ्याएका छन् ।
तर वाशिङ्टन डीसीस्थित भारतीय दूतावासकी प्रवक्ताले यस विषयमा कुनै टिप्पणी गर्न भने अस्वीकार गरेकी छन् ।
ट्रम्प प्रशासनले भारतको रूसी तेल खरिदलाई आफ्नो व्यापार युद्धमा प्रयोग गर्दै आएको छ । भारतले प्रतिरोध गरेकोले कूटनीतिक तनाव पनि सिर्जना गरेको छ ।
रुसका तेल र ग्याँस रुसका सबैभन्दा ठूला निर्यात वस्तु हुन् । रुसका प्रमुख ग्राहकहरूमा चीन, भारत र टर्की पर्छन् ।
ओभल अफिसमा बोल्दै ट्रम्पले चीनलाई पनि भारतलाई जस्तै राजी गराउनु पर्ने आवश्यकता रहेको बताए ।
चीनसहित अन्य व्यापारिक साझेदारहरूलाई पनि रुसबाट तेल किन्ने कार्य रोक्न अमेरिकाले दबाब दिइरहेको छ ।
ट्रम्पले भने, भारत तुरुन्तै तेल आयात रोक्न सक्दैन, तर “यो केही प्रक्रिया हुनेछ, तर प्रक्रिया चाँडै पूरा हुनेछ,” उनले भने ।
ट्रम्प प्रशासनले भारतका सामानमाथि ५० प्रतिशतसम्मको शुल्क लगाएको छ । जसलाई ट्रम्पले “रुसबाट तेल र हतियार किन्ने” भारतको कार्यको सजायका रूपमा वर्णन गरेका छन् ।
यो शुल्क गत अगस्टदेखि लागू भएको हो । विश्वकै सबैभन्दा उच्च शुल्कहरूमध्ये एक हो । यसमा युक्रेन युद्धको वित्तीय स्रोत बनेका रुससँगका कारोबारका लागि २५ प्रतिशत थप दण्ड पनि समावेश छ ।
प्रधानमन्त्री मोदीले भने भारतले रुस–युक्रेन युद्धमा तटस्थता अपनाएको बताउँदै रुससँगको ऐतिहासिक सम्बन्धलाई आधार बनाएका छन् ।
भारतले विश्वकै पाँचौँ ठूलो अर्थतन्त्रका रूपमा आफ्नो आर्थिक स्थिरताका लागि रुसको सस्तो तेलमा निर्भरता राख्दै आएको छ ।
रूसी तेलको विषयले ट्रम्प र मोदीबीच सम्बन्धमा तनाव ल्याएको भए पनि, ट्रम्पले मोदीको प्रशंसा गर्दै उनलाई “महान् व्यक्ति” भनेका छन् ।








