अमेरिकाद्वारा ६ विदेशी नागरिकको भिसा रद्द, सामाजिक सञ्जालको अनुगमन जारी


प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार

अमेरिकाले कम्तीमा ६ जना विदेशी नागरिकको भिसा रद्द गरेको छ। विदेश मन्त्रालयले कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको हत्यापछि “उत्सव मनाएको” आरोपमा उनीहरूको भिसा रद्द गरिएको जनाएको हो।

मन्त्रालयले ‘एक्स’ (पहिलेको ट्विटर) मा गरिएको पोस्टमा भिसा रद्द गरिएका केही व्यक्तिहरूको उदाहरणसमेत सार्वजनिक गरेको थियो।

मन्त्रालयले चार्ली कर्कको घृणित हत्यामा खुसी मनाउने भिसावाहकहरूको पहिचान गर्ने काम निरन्तर जारी रहेको बताएको छ।

कर्कको हत्यापछि भिसा अस्वीकार वा रद्द गर्ने मन्त्रालयको यो निर्णयले अमेरिकी संविधानको पहिलो संशोधन अन्तर्गतको स्वतन्त्र अभिव्यक्ति व्यक्त गर्न पाउने अधिकारमाथि कानुनी प्रश्न उठाएको छ। विदेशमन्त्री मार्को रुबियोले गत महिनादेखि नै कर्कको हत्यामा उत्सव मनाउने व्यक्तिहरूको भिसा अस्वीकार गर्दै आएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उप-विदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले दूतावासका अधिकारीहरूलाई सामाजिक सञ्जालमा कर्कको मृत्युका बारेमा “प्रशंसा, समर्थन वा व्यङ्ग्यात्मक टिप्पणी” गर्ने व्यक्तिहरू पहिचान गर्न निर्देशन दिएका थिए। तर, सामाजिक सञ्जाल अनुगमनमा कति अधिकारी खटिएका छन् भन्नेबारे जानकारी दिइएको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ली कर्कलाई मरणोपरान्त ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका छन्। सो समारोहमा कर्ककी श्रीमती एरिका कर्कले ट्रम्पसँगै पुरस्कार ग्रहण गरेकी थिइन्।

विदेश मन्त्रालयले अर्जेन्टिनी नागरिकले कर्कलाई “जातिवादी, विदेशविरोधी र महिलाविरोधी विचार फैलाउने व्यक्ति” भन्दै “नर्कमा पोलिनुपर्छ” भनेर पोस्ट गरेको बताएको छ। उनको भिसा पनि मन्त्रालयले रद्द गरेको छ। मन्त्रालयले अर्जेन्टिना, पाराग्वे, मेक्सिको, ब्राजिल र जर्मनीका नागरिकहरूको भिसा रद्द गरिएको जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सीमा, संस्कृति र नागरिकको रक्षा गर्न अध्यागमन कानुन लागू गरिएको भन्दै “अमेरिकाको आतिथ्यताको दुरुपयोग गर्दै हत्याको उत्सव मनाउने विदेशीहरूलाई निष्कासित गरिने” बताएका छन्।

तर, ओबामा प्रशासनका बेला विदेश मन्त्रालयका कानुनी सल्लाहकार रहेका ह्यारोल्ड होन्गजु कोहले कर्कको मृत्युबारेको टिप्पणीका आधारमा भिसा रद्द गर्नु संविधानको उल्लङ्घन भएको धारणा राखेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com