अमेरिकामा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट, १८ जना बेपत्ता
प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार
अमेरिकाको टेनेसी राज्यमा रहेको एक विस्फोटक उत्पादन कम्पनीमा भएको ठूलो विस्फोटमा कम्तीमा १८ जना हराइ रहेका छन । उनीहरुको मृत्यु भएको आशंका पनि अधिकारीहरुले गरेका छन ।
अधिकारीहरूले यो विस्फोटलाई “मास डिटोनेशन” अर्थात् ठूलो विस्फोटको रूपमा वर्णन गरेका छन् । जसको असर धेरै माइल टाढासम्म महसुस गरिएको थियो।
विस्फोट एक्युरेट इनरजेटिक सिष्टम नामक कम्पनीमा भएको हो । यो कम्पनीले सैनिक र विध्वंसक प्रयोजनका विस्फोटक पदार्थहरू उत्पादन गर्छ ।
विस्फोटपछि ठूला टुक्रा, ध्वस्त सवारी साधन र जलेका भवनका भग्नावशेषहरू आधा वर्ग माइल क्षेत्रभर फैलिएका छन् । स्थानीय समय अनुसार बिहान करिब पौने ८ बजे भएको उक्त विस्फोट १५ माइल टाढासम्म महसुस गरिएको बताइएको छ ।
हाम्फ्रिज काउन्टीका शेरिफ क्रिस डेविसले केहीको मृत्यु भएको पुष्टि गरे पनि मृतकको आधिकारिक संख्या भने बताएका छैनन ।
एफबीआई लगायतका संघीय निकायहरूले अनुसन्धानमा सहयोग गरिरहेका बताइएको छ । तर विस्फोटको कारण अहिलेसम्म पत्ता लाग्न भने बाँकी रहेको छ।
कम्पनीले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै विस्फोटलाई “दुःखद दुर्घटना” भनेको छ । यो कम्पनी न्यासभिलबाट करिब एक घण्टा दक्षिण–पश्चिमतिर, हिकम्यान र हाम्फ्रिज काउन्टीको सीमामा अवस्थित छ ।
कम्पनीले अमेरिकी युद्ध मन्त्रालय र औद्योगिक बजारका लागि उच्च स्तरका विस्फोटक उत्पादनहरू बनाउने गर्छ। गत महिना मात्र, कम्पनीले अमेरिकी युद्ध मन्त्रालयसँग झण्डै १२ करोड डलर बराबरको टीएनटी आपूर्तिको ठेक्का पाएको थियो ।
यसै कम्पनीमा एक दशकअघि पनि विस्फोट भएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो।
२०१९ मा अमेरिकी श्रम सुरक्षा तथा स्वास्थ्य प्रशासन ले सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको भन्दै कम्पनीलाई ७,२०० डलर जरिवाना गरेको थियो ।
त्यसपछि कम्पनीले मुद्दा मिलापत्रको माध्यमबाट समाधान गरेको थियो। २०१६ देखि अहिलेसम्म कम्पनीमा कामको दौरानमा ४६ जनालाई चोट पटक लागेको छ । तर कुनै पनि मृत्यु भएको छैन ।
राज्य सीनेटर केरी रोबर्ट्सका अनुसार कम्पनी १,३०० एकड क्षेत्रफलमा फैलिएको छ । स्थानीय समुदायमा अत्यन्त लोकप्रिय रोजगारदाता कम्पनीको रुपमा यो रहेको छ ।








