चिनियाँ सामानमा १०० प्रतिशत थप आयात कर लगाउने अमेरिकाको घोषणा
प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्।
नयाँ शुल्क नोभेम्बर १ देखि वा त्यसअघि नै लागू हुने बताइएको छ । यो निर्णय लामो समयदेखि चलिरहेको अमेरिका–चीन व्यापार युद्धमा सबैभन्दा ठूलो वृद्धि भएको मानिएको छ ।
हाल चीनबाट आयात हुने सामानमा ३० प्रतिशत शुल्क लाग्दै आएको छ । अब चीनबाट अमेरिकामा आयात हुने सामानमा १३० प्रतिशत शुल्क लाग्ने भएको छ ।
ट्रम्पले आफनो सामाजिक सञ्जालमा लेख्दै भने, “अमेरिकाले अहिले चीनले तिरेको शुल्कबाहेक थप १०० प्रतिशत शुल्क लगाउनेछ । साथै, नोभेम्बर १ बाट हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण लागू गर्नेछौं।”
यो कदम चीनले आफ्नो “रेयर अर्थ मेटल्स” (दुर्लभ धातु) निर्यातमा लगाएको नियन्त्रणको प्रतिक्रिया स्वरूप आएको हो ।
यी धातुहरू धेरै प्रकारका इलेक्ट्रोनिक उपकरणहरू बनाउन अत्यावश्यक हुने गर्छन् । यसै कारण ट्रम्पले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा तय गरिएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक पनि रद्द गरेका छन्।
ट्रम्पको उक्त घोषणापछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिका र चीन विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र हुन्। यद्यपि अहिले मेक्सिको अमेरिकाको प्रमुख आपूर्तिकर्ता देश बनेको छ ।
अमेरिकाले अझै पनि चीनबाट सयौं मिलियन डलर बराबरका वस्तुहरू आयात गर्छ । त्यसैगरी, चीन पनि अमेरिकी निर्यातका लागि प्रमुख बजार हो।
अमेरिका मुख्यतः इलेक्ट्रोनिक्स, लुगा र फर्निचर चीनबाट आयात गर्छ । ट्रम्पले अमेरिकी व्यवसायीहरूलाई उत्पादन अमेरिकामै फिर्ता ल्याउन दबाब दिँदै आएका छन् ।
तर पछिल्ला महिनामा भने उनले केही नरम व्यवहार देखाएका छन् । किनकि धेरै कम्पनीहरूले अमेरिकामा नयाँ लगानी र कारखाना विस्तारको घोषणा गरेका छन् ।
गत वर्ष ट्रम्प प्रशासनले चीनका सामानमा १४५ प्रतिशत सम्मको शुल्क लगाएको थियो । जसलाई धेरैले वास्तविक “व्यापार प्रतिबन्ध” सरह मानेका थिए ।
तर, त्यसपछि ट्रम्पले इलेक्ट्रोनिक वस्तुहरूलाई २० प्रतिशत शुल्कमा सीमित गर्दै केही छुट दिएका थिए। मे महिनामा अमेरिका र चीनबीच भएको सहमति अनु्सार दुवै देशले एकअर्का विरुद्ध लगाएको शुल्क घटाएका थिए ।
अमेरिकाले चीनसँगको व्यापार सम्झौतामा “दुर्लभ धातु” आपूर्तिको वृद्धि सुनिश्चित गर्न खोज्दै आएको छ । तर चीनले सम्झौता उल्लंघन गरेको भन्दै ट्रम्पले पहिले पनि अमेरिकी प्रविधि निर्यातमा प्रतिबन्ध लगाएका थिए ।
पछि चीनले पनि अमेरिकी जहाजहरूमाथि शुल्क लगाउने कदम शुक्रबारबाट लागू भएको छ।








