न्यूयोर्ककी अटर्नी जनरल जेम्समाथि आपराधिक मुद्दा दायर


प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

openverse

अमेरिकाको न्यूयोर्ककी अटर्नी जनरल लेटिटिया जेम्समाथि आपराधिक मुद्दा दायर भएको छ । संघीय अदालतको ग्रान्ड ज्युरीले जेम्समाथि मुद्दा दायर गरेको हो।

२०२३ मा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नागरिक ठगी अनुसन्धानको नेतृत्व गरेकी जेम्सलाई भर्जिनियाको एलेक्जान्ड्रियास्थित पूर्वी जिल्लाको संघीय ग्रान्ड ज्युरीले बैंक ठगीको अभियोगमा दोषी ठहर्याउँदै मुद्दा चलाएको छ।

अदालतका दस्तावेजहरूका अनुसार, जेम्समाथि बैंक ठगी र वित्तीय संस्थालाई झूटो विवरण दिएको आरोप लगाइएको छ। उनीमाथि भर्जिनियाको नोरफोक शहरमा रहेको घरको बन्धक ऋण (मोर्टगेज लोन) लिँदा गलत विवरण दिएको आरोप छ।

अभियोग पत्रमा उल्लेख भएअनुसार, जेम्सले ऋण सम्झौतामा उक्त घरलाई आफ्नो दोस्रो निवासको रूपमा प्रयोग गर्ने वाचा गरेकी थिइन्, तर त्यसलाई भाडामा लगाएको पाइयो। अभियोजन पक्षका अनुसार यो गलत विवरणका कारण उनले निवेश (लगानी) प्रयोजनका लागि पाइनेभन्दा धेरै अनुकूल ऋण सर्तहरू प्राप्त गरिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेम्सले यो कदमलाई राष्ट्रपति ट्रम्पको “न्याय प्रणालीको हताश दुरुपयोग भन्दै तीव्र आपत्ति जनाएकी छिन्। उनले राष्ट्रपतिले संघीय कानून प्रवर्तन निकायहरूलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाएकी छिन्।

संघीय अभियोजक लिण्ड्से ह्यालिगन, जसलाई ट्रम्पले यो मुद्दा हेर्न नियुक्त गरेका छन्, उनले ” कोही पनि कानूनभन्दा माथि नहुने” बताएका छन्। उनले थप स्पष्ट पार्दै, आरोपहरूले “जनताको विश्वासको ठूलो उल्लंघन” गरेको भन्दै न्याय सुनिश्चित गर्नका लागि अघि बढ्ने बताएका छन्।

यसअघि, यो मुद्दा हेर्ने संघीय अभियोजक एरिक सिबर्टले प्रमाणको अभावका कारण जेम्समाथि मुद्दा नलगाउने निर्णय गरेका थिए, जसपछि उनलाई पदबाट हटाइएको थियो। जेम्सको पहिलो अदालत पेशी आगामी अक्टोबर २४ मा नोरफोकमा हुने तय भएको छ।

गत महिनामा ट्रम्पले संघीय न्यायमन्त्री पाम बन्डीलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कारबाही गर्न सार्वजनिक रूपमा दबाब दिएका थिए। पूर्व एफबीआई निर्देशक जेम्स कोमीमाथि पनि झूटो बयान दिएको अभियोग लगाइएको छ र उनले निर्दोष दाबी गरिरहेका छन्।

जेम्सले दायर गरेको नागरिक ठगी मुद्दामा ट्रम्पलाई ऋण सुविधा पाउनका लागि झूटा विवरण दिएकोमा दोषी ठहर गर्दै करिब ५०० मिलियन डलर जरिवाना गरिएको थियो। तर, पछि अपील अदालतले उक्त जरिवानाको रकम अत्यधिक भएको भन्दै रद्द गरेको थियो।

यसबीच, न्याय मन्त्रालयले ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र क्यालिफोर्नियाका डेमोक्र्याट सीनेटर एडम शिफ विरुद्ध पनि अनुसन्धान सुरु गरेको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com