ट्रान्सजेन्डर महिलामाथिको खेल प्रतिबन्ध कायम राख्न न्युयोर्कका न्यायाधीशको आदेश


प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार

अमेरिकाको न्युयोर्कका एक न्यायाधीशले ट्रान्सजेन्डर महिलामाथिको खेल प्रतिबन्ध कायम राख्ने आदेश दिएका छन्।

लङ आइल्यान्ड काउन्टीमा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेल टिममा खेल्न नदिने कानुनलाई वैध ठहर गर्दै ती न्यायाधीशले त्यसको समर्थन गरेका छन्।

न्यायाधीश आर. ब्रुस कोजेनसले नासाउ काउन्टीको यो प्रतिबन्ध महिला तथा किशोरीहरूको सुरक्षाका लागि बनाइएको भन्ने आदेश दिएका हुन्। उनले ट्रान्सजेन्डर खेलाडीहरूले काउन्टीका सह-शिक्षित खेलका लिगहरूमा भने भाग लिन सक्ने बताएका छन्।

न्यायाधीशले स्थानीय कानुन लक्ष्य हासिल गर्न सटीक रूपमा बनाइएको र यसले ट्रान्सजेन्डर व्यक्तिलाई पूर्ण रूपमा खेलकुदबाट निषेध गरेको छैन भनेका छन्। यो कानुनले केवल महिला तथा किशोरीहरूको खेल श्रेणीमा पहुँच सीमित गर्ने उनको भनाइ छ।

यसअघि पनि न्यायाधीश कोजेनसले उक्त प्रतिबन्धलाई अस्थायी रूपमा रोक्न गरिएको माग अस्वीकार गरेका थिए।

लङ आइल्यान्ड रोलर रेबेल्स नामक रोलर डर्बी लिगले यो प्रतिबन्धविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूले कानुनले राज्यको भेदभाव विरोधी कानुनको उल्लङ्घन गरेको दाबी गरेका थिए।

न्युयोर्क सिभिल लिबर्टीज युनियनले रोलर लिगको तर्फबाट मुद्दा दायर गरेको थियो। युनियनले फैसलापछि वक्तव्य जारी गर्दै निर्णयले नासाउ काउन्टीमा ट्रान्स समुदायका मानिसहरूलाई अस्वीकार गरिएको सन्देश दिएको भन्दै आफ्नो लडाइँ यतिमै नसकिने बताएको छ।

न्युयोर्कका अदालतहरूले यो प्रतिबन्धलाई अवैध र भेदभावपूर्ण ठहर गर्ने अपेक्षा युनियनको रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नासाउ काउन्टीका कार्यकारी ब्रुस ब्लेकम्यानले गत वर्ष पहिलो पटक कार्यकारी आदेशमार्फत यो प्रतिबन्ध लागू गरेका थिए।

तर, रोलर लिग र न्युयोर्क सिभिल लिबर्टीज युनियनले दायर गरेको मुद्दापछि त्यो आदेश खारेज भएको थियो।

काउन्टीको रिपब्लिकन नियन्त्रित विधानसभाले नयाँ कानुन पारित गर्दै प्रतिबन्धलाई पुनः लागू गरेको थियो। सोही प्रतिबन्धले कानुनी विवाद पुनः सुरु गराएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com