अमेरिकामा हवाई यात्रामा समस्या, समाधान कहिले होला ?
प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार
अमेरिकामा जारी सटडाउनका कारण हवाई यात्रा गर्नेहरू समस्यामा परेका छन्। सटडाउनले जनशक्ति कम हुँदा एयर ट्राफिक कन्ट्रोलरको अभाव झन् गहिरिँदै गएपछि यात्रुहरू समस्यामा परेका हुन्।
उडानमा लामो ढिलाइ र रद्द हुने समस्याको मारमा यात्रुहरू परेका देखिएको छ। नास्भिल, डल्लास, शिकागो र न्युयोर्कजस्ता प्रमुख सहरका विमानस्थलहरूमा उडानमा ढिलाइ बढी देखिएको हो।
क्यालिफोर्नियाको हलिउड बर्बैंक विमानस्थलमा जनशक्ति अभावका कारण करिब ६ घण्टासम्म एयर ट्राफिक कन्ट्रोल अर्थात् नियन्त्रण टावर खाली बनेको थियो। उडानहरू टाढाबाटै व्यवस्थापन गर्नुपरेको थियो।
परिवहन मन्त्री शोन डफीका अनुसार सरकारी बन्द सातौँ दिन पुगेका बेला केही एयर ट्राफिक कन्ट्रोलरहरूले काममा नआउने (“सिक कर्ड”) गरेका छन्। उनले कतिपय क्षेत्रमा जनशक्ति ५० प्रतिशतसम्म घटेको बताएका छन्।
एयर ट्राफिक कन्ट्रोलरहरू “आवश्यक कर्मचारी” मानिने भएकाले उनीहरूलाई सरकारी बन्दका समयमा पनि तलबबिनै काम गर्नुपर्ने हुन्छ।
फ्लाइटअवेयरका अनुसार करिब ३,२०० अमेरिकी उडानहरू ढिलो भएका थिए।
सोमबार न्युयोर्क, फिनिक्स, डेन्भर, लस भेगास र बर्बैंक विमानस्थलमा पनि कर्मचारीको कमीका कारण ४० देखि ६० मिनेटसम्मको ढिलाइ भएको थियो।
नेशनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएशनले कर्मचारीहरू अत्यधिक कामको चापमा रहेको र तलब नपाउँदा मानसिक तनाव झन् बढेको बताएको छ।
एसोसिएशनले बन्द सुरु आफूले नगरेको भन्दै बन्द अन्त्य गर्ने जिम्मा पनि आफ्नो नभएको बताएको छ। उसले भनेको छ: “बन्द खुलाउने विषय राजनीतिज्ञहरूको हो।”
अक्टोबर १ देखि सुरु भएको यो सरकारी बन्द रिपब्लिकन र डेमोक्र्याट सांसदहरूबीचको बजेट विवादका कारण भएको हो। करीब ७ लाख ५० हजार संघीय कर्मचारी विदामा छन्, जबकि “आवश्यक कर्मचारी”हरूले तलबबिनै काम गरिरहेका छन्।
अमेरिकामा यस्तै जनशक्ति संकटले सन् २०१९ मा पनि सरकारी बन्द अन्त्य गराउन मद्दत गरेको थियो। त्यो बेला पाँच हप्तासम्म लामो बन्दले उडान सेवा ठप्प पारेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले छोटो अवधिको खर्च विधेयकमा हस्ताक्षर गरेर बन्द अन्त्य गरेका थिए।
सरकारी बन्द अन्त्य गर्ने जिम्मा राजनीतिज्ञहरूको हो। उनीहरूले अल्पकालीन वा पूर्ण बजेट विधेयक पारित गरेमा मात्रै ७ लाख ५० हजार विदामा रहेका कर्मचारी काममा फर्किनेछन् र ‘आवश्यक कर्मचारी’ ले पनि तलब पाउन सुरु गर्नेछन्।
सरकारी बन्द जबसम्म जारी रहन्छ, तलब बिना काम गरिरहेका एयर ट्राफिक कन्ट्रोलरहरूको अभाव तबसम्म जारी रहनेछ।








