संघीय कर्मचारीलाई सामूहिक बर्खास्त गर्ने ह्वाइट हाउसको चेतावनी


प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार

ह्वाइट हाउसले संघीय कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्ने काम दुई दिनभित्र सुरु हुने चेतावनी दिएको छ।

करिब सात वर्षपछि पहिलो पटक सरकार शटडाउन (बन्द) मा गएपछि अमेरिकी संघीय कर्मचारीहरूको सामूहिक बर्खास्ती गर्न लागिएको ह्वाइट हाउसले जनाएको छ। बुधबार मध्यरातको समय सीमाअघि नयाँ खर्च योजना पारित गर्न रिपब्लिकन र डेमोक्र्याटबीच सहमति नजुटेपछि शटडाउन सुरु भएको हो।

शटडाउन अन्त्य गर्ने प्रस्तावित मत पनि सरकारले प्राप्त गर्न नसकेपछि सिनेट स्थगित भएको छ। यदि यो अवस्था लामो समयसम्म कायम रह्यो भने लाखौँ रोजगारी जोखिममा पर्ने र अमेरिकी अर्थतन्त्रलाई अर्बौं डलरको घाटा पुर्‍याउने आशङ्का बढेको छ।

दुर्लभ रूपमा प्रेस सचिव क्यारोलिन लेभिट सँगै प्रेस ब्रिफिङमा उपस्थित हुँदै उपराष्ट्रपति जे.डी. भान्सले सरकारलाई शटडाउन गराएर डेमोक्र्याटले “राजनीतिक खेल” खेलेको आरोप लगाए।

भान्सले डेमोक्र्याटहरू अमेरिकी जनतामाथि पर्न सक्ने असरबारे चिन्तित छन् र सरकार पुनः खोल्नुपर्छ भन्ने विचार राखे। लेभिटले भने दुई दिनभित्र कर्मचारीहरूको सामूहिक बर्खास्ती हुने बताइन्। यसको दोष डेमोक्र्याटमाथि लगाउँदै उनले कहिलेकाहीँ गर्न नचाहेको पनि गर्नुपर्ने रहेछ भनी टिप्पणी गरिन्।

यो विषयमा दुवै पार्टीबीच कडा आरोप–प्रत्यारोप चलेको छ। सिनेट डेमोक्र्याट नेता चक शुमरले रिपब्लिकनलाई आफ्नो खर्च योजना स्वीकार गर्न दबाब दिएको आरोप लगाए।

डेमोक्र्याटहरूले स्वास्थ्य सेवा खर्चको ग्यारेन्टीबिना सम्झौता नगर्ने अडान लिएका छन्। उनीहरूले तल्लो आय भएका अमेरिकीहरूको स्वास्थ्य लाभ जोगाउन खोजिरहेको बताए। डेमोक्र्याट सिनेटर क्रिस मर्फीले रिपब्लिकनहरूले वार्ता बहिष्कार गरेकोमा आश्चर्य व्यक्त गरे।

रिपब्लिकनहरू भने अस्थायी खर्च विधेयकमार्फत नोभेम्बरसम्म सरकार खुला राख्न चाहन्छन्। उनीहरूको आरोप छ कि डेमोक्र्याटले अमेरिकी जनतालाई राजनीतिक फाइदाका लागि बन्धक बनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस पटक करिब ४० प्रतिशत कर्मचारी अस्थायी बिनातलब बिदामा पठाइने अनुमान गरिएको छ। सन् २०१८ को भन्दा ठूलो शटडाउन हुने अपेक्षा गरिएको छ।

तर, ट्रम्प प्रशासनले स्थायी कर्मचारीलाई पनि बर्खास्त गर्ने चेतावनी दिएको छ। भान्सले भने, “यदि यो अवस्था लामो समय तानियो भने हामीलाई कर्मचारी कटौती गर्नैपर्छ।”

भान्सले डेमोक्र्याटहरूले “अनधिकृत आप्रवासीलाई स्वास्थ्य लाभ दिन खोजेको” भन्दै आलोचना गरेका छन्। तर डेमोक्र्याटहरूले यसलाई अस्वीकार गर्दै अमेरिकी कानुनले अनधिकृत आप्रवासीलाई संघीय स्वास्थ्य लाभ लिन नदिने स्पष्ट रहेको बताएका छन्।

बजेट प्रमुख रस्सेल भोटले रिपब्लिकन सांसदलाई सम्भावित बर्खास्तीबारे जानकारी दिएका छन्, तर सार्वजनिक विवरण अझै अस्पष्ट नै रहेको छ।

रिपब्लिकनले प्रस्ताव गरेको अस्थायी खर्च विधेयकमा शुक्रबार फेरि मतदान हुने अपेक्षा गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com