अमेरिकाद्वारा १२० इरानी नागरिक डिपोर्ट: अधिकांश मेक्सिको हुँदै अमेरिका पुगेका


प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार

यो तस्बिर आइसको डिपोर्टेसनलाई दर्शाउने प्रतिनिधि तस्बिर मात्र हो; यसको हालै डिपोर्ट गरिएका नेपाली नागरिकहरूसँग सम्बन्ध छैन।

अमेरिकाले करिब १२० जना इरानी नागरिकलाई डिपोर्ट गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनमाथिको कडाइको परिणामस्वरूप उनीहरूलाई अमेरिकाबाट देश निकाला गरिन लागेको इरानी अधिकारीहरूले बताएका छन्।

इरानी परराष्ट्र मन्त्रालयका अधिकारी होसेन नुशाबादीका अनुसार डिपोर्ट गरिएका इरानीहरू आगामी एक-दुई दिनभित्रै स्वदेश फर्किनेछन्। कतारमार्फत इरान पठाइन लागेका अधिकांश इरानीहरू मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।

पछिल्ला वर्षहरूमा अमेरिकामा प्रवेश गर्ने इरानी नागरिकको सङ्ख्या बढ्दै गएको छ। धेरैले इरानमा हुने दमनको डर व्यक्त गर्दै अमेरिकामा शरण खोजेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले ट्रम्प प्रशासन राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्न प्रतिबद्ध रहेको बताइन्। उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो अवैध आप्रवासी देशनिकाला अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

यद्यपि, नुशाबादीले देश निकाला हुने केही व्यक्तिसँग वैध अमेरिकी बसोबास अनुमति पत्र (रेजिडेन्सी परमिट) पनि रहेको बताएका छन्। अमेरिकी अधिकारीहरूले उनीहरूको स्वदेश फर्किने सहमति मागेको उनले जानकारी दिए।

नुशाबादीले अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इरानी आप्रवासीको अधिकारको सम्मान गर्न आग्रह गरेका छन्। देश निकाला हुने पहिलो विमान मङ्गलबार इरानमा अवतरण गर्नेछ।

इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध नरहे पनि पाकिस्तानस्थित तेहरानको अमेरिकी हित कार्यालयमार्फत इरानी नागरिकको फिर्तीबारे सहमति भएको हो। यो सहयोग दुई देशबीचको दुर्लभ उदाहरण हो।

नुशाबादीका अनुसार सो सम्झौताअनुसार करिब ४०० जना इरानी नागरिकलाई अमेरिकाबाट फर्काइनेछ, जसमा अहिलेको विमान पहिलो चरणको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले यसअघि पनि विभिन्न देशहरूसँग देशनिकाला सम्झौता गरेको छ। यसै वर्ष पानामा र कोस्टारिकाले सयौँ अफ्रिकी र एसियाली आप्रवासीलाई अमेरिकाबाट स्वीकार गर्न सहमति जनाएका थिए।

राष्ट्रपति ट्रम्पले लगातार आप्रवासन कटौती गर्ने र कानुनी दर्जाबिना बसोबास गरिरहेका मानिसलाई उल्लेख्य मात्रामा देशनिकाला गर्ने वाचा गर्दै आएका छन्।

उनले “अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो आपराधिक आप्रवासी देशनिकाला कार्यक्रम सुरु गर्ने” घोषणा गरेका छन्। तर अहिले फिर्ता पठाइएका इरानी नागरिकको आपराधिक इतिहास छ वा छैन भन्ने स्पष्ट भएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com