अमेरिकाद्वारा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने तयारी, अन्तिम निर्णय ट्रम्पको हातमा


प्रकाशित मिति : आश्विन १२, २०८२ सोमबार

अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सक्ने हतियार दिने तयारी गरिरहेको छ। लामो दूरीमा मार हान्न सक्ने टोमहक क्षेप्यास्त्र युक्रेनलाई दिनेबारे विचार भइरहेको उपराष्ट्रपति जे. डी. भान्सले बताएका छन्। यद्यपि, उनले यसको अन्तिम निर्णय भने राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने स्पष्ट पारेका छन्।

युक्रेनले लामो समयदेखि आफ्ना पश्चिमी साझेदारहरूसँग फ्रन्टलाइनभन्दा टाढा रहेका प्रमुख रूसी सहरहरूमा आक्रमण गर्न सक्ने हतियार माग गर्दै आएको छ। लामो दूरीमा मार हान्न सक्ने हतियार युक्रेनले प्राप्त गरेमा ती हतियारले रूसको सैन्य उद्योगलाई गम्भीर क्षति पुर्याउने र युद्धलाई अन्त्यतिर लैजाने दाबी युक्रेनले गरेको छ।

टोमहक क्षेप्यास्त्रको दूरी करिब २,५०० किलोमिटर हुन्छ। यो हतियारले रूसको मस्कोलाई पनि युक्रेनको आक्रमण दायराभित्र ल्याउँछ। अमेरिकाका युक्रेनका लागि विशेष दूत कीथ केलेगले भने ट्रम्पले पहिले नै रूसको भित्री क्षेत्रसम्ममा प्रहार गर्ने अनुमति दिएको सङ्केत गरेका छन्।

विगतमा युक्रेन युद्धमा टिक्न सक्दैन भन्ने शङ्का व्यक्त गर्ने ट्रम्पले गत हप्ता “युक्रेनले आफ्नो सम्पूर्ण भूमि फिर्ता लिन सक्छ” भन्दै सबैलाई चकित पार्ने गरी धारणामा परिवर्तन ल्याएका थिए। ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट भएको बताइन्छ, किनभने पुटिनले सतही रूपमा मात्र शान्ति वार्ता गर्न इच्छुक देखाए पनि युक्रेनका सहरहरूमा निरन्तर आक्रमण गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत आइतबार मात्रै, १२ घण्टा लामो हवाई आक्रमणमा सयौं ड्रोन र करिब ५० क्षेप्यास्त्र प्रहार हुँदा ४ जनाको मृत्यु र ७० भन्दा बढी घाइते भएका थिए। युक्रेनले आफ्नो आकाशलाई सुरक्षित राख्न कम्तीमा १० वटा प्याट्रियट वायु रक्षा प्रणाली माग गरेको छ। रूसले यसै महिनामा मात्रै ८०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ, जुन २०२२ मा सुरु भएको आक्रमणयता सबैभन्दा बढी हो।

यस्ता ठूलो स्तरका आक्रमणमा युक्रेनको प्रतिरक्षा प्रणालीले सबैलाई रोक्न कठिन भइरहेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, गत आइतबार प्रयोग गरिएका सयौं ड्रोनमध्ये ३१ वटा लक्षित स्थानमा लागेका थिए र तिनले प्रायः आवासीय भवन र स्वास्थ्य संस्थालाई निशाना बनाएका थिए।

सन् २०२३ मा प्रयोग भएका इरानी शाहेद ड्रोनलाई सजिलै जाम गर्न सकिन्थ्यो, तर अहिले १६ च्यानल एन्टेना प्रयोग गरेर तिनीहरूले अवरोध प्रणाली पार गर्ने गरेका छन्।

युक्रेनले वायु रक्षा प्रणालीलाई मजबुत पार्नु केवल युक्रेनका लागि मात्र नभई सम्पूर्ण युरोपको सुरक्षामा लगानी भएको बताएको छ। ट्रम्प प्रशासनले यस वर्ष युरोपेली सहयोगीहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने नयाँ संयन्त्र अनुमोदन गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com