अमेरिकाको एरिजोनामा बाढी, कम्तीमा ४ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार

अमेरिकाको एरिजोनामा आएको बाढीका कारण कम्तीमा चार जनाको ज्यान गएको छ। उद्धार टोलीहरूले हराइरहेका अन्य व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन्।

ग्लोब शहरमा तीन जनाको मृत्यु भएको गिला काउन्टी इमर्जेन्सी सेवाका कार्ल मेलफोर्डले बताएका छन्। त्यहाँबाट करिब ९० माइल टाढा स्कट्सडेलमा एकजनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्।

फायर विभागका अनुसार गाडी करिब ९ फिटसम्मको बाढीको पानीमा डुबेको अवस्थामा भेटिएको थियो।

एरिजोनाका गभर्नर केटी होब्सले गिला काउन्टीका लागि आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र पुनःस्थापना कार्यमा राष्ट्रिय गार्डसमेत परिचालन गर्न सकिने बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले गृहमन्त्री क्रिस्टी नोएमसँग पनि सम्पर्क गरी आवश्यक परे सङ्घीय आपतकालीन व्यवस्थापन एजेन्सीबाट सहयोग आउने सङ्केत पाएको बताएकी छिन्।

ग्लोब शहरले पनि आपतकालीन अवस्था घोषणा गर्दै स्थानीयलाई घरभित्रै बस्न आग्रह गरेको छ। बाढीले खतरनाक फोहोर, रसायन तथा अन्य अवशेष, विशेष गरी प्रोपेन ग्यासका ट्याङ्कीहरू शहरभरि छरिएको जानकारी आएको स्थानीयले बताएका छन्।

करिब १,००० वटा प्रोपेनका बोतल बाढीले बगाएको मेयर अल गामेरोसले जनाएका छन्। तीमध्ये केही चुहिएकाले हाजम्याट टोली परिचालन गरिएको छ।

डाउनटाउन ग्लोबका केही भवन असुरक्षित देखिएका छन्। सडकहरूमा हिलो र अवशेषको थुप्रो देखिएको छ। थुप्रै गाडीहरू बाढीले बगाएको पुष्टि भएको छ।

एरिजोना डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसनलाई पुल र सडकको संरचनामा भएको क्षति मूल्याङ्कनका लागि बोलाइएको छ। प्रभावित बासिन्दाहरूका लागि आश्रयस्थल र सूचना केन्द्र सञ्चालनमा आएको छ।

फिनिक्स स्काई हार्बर एयरपोर्टमा १.६४ इन्च वर्षा भएको थियो। यो अक्टोबर २०१८ यताकै धेरै वर्षा हो।

स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो शहर पूर्णरूपमा तहसनहस भएको देखाएका छन्। प्रोपेनका बोतलहरू, चिप्लिएका गाडी र भत्किएका पुलहरूका दृश्य सेयर भएका छन्।

ग्लोब शहरमा करिब ७,२०० जनसंख्या छ, जुन फिनिक्स शहरबाट करिब ९० माइल पूर्वमा रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com