तत्कालिन अमेरिकी राष्ट्रपति फोर्डको हत्या प्रयास गर्नेको मृत्यु
प्रकाशित मिति : आश्विन ८, २०८२ बिहीबार
अमेरिकी पूर्व राष्ट्रपति जेराल्ड फोर्डको हत्या प्रयास गरेकी सारा जेन मूरको मृत्यु भएको छ । जेराल्ड फोर्ड अमेरिकाका ३८ औँ राष्ट्रपति थिए। उनी सन् १९७४ देखि १९७७ सम्म राष्ट्रपति बनेका थिए।
उनले सन् १९७५ मा तत्कालिन अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डमाथि गोली चलाएर हत्या प्रयास गरेकी थिइन् । उनी ९५ वर्षकी थिइन्।
मूरलाई जन्मकैदको सजाय सुनाइएको थियो । तर जीवनको अन्तिम चरणमा परोलमा मुक्त गरिएको थियो।
परोल भनेको सजाय भोगिरहेका कैदीहरूलाई उनीहरूको चालचलन (व्यवहार) र आचरण राम्रो भएमा तोकिएको कारागारको सजायको केही अंश बाँकी रहँदै निश्चित शर्तहरू पूरा गरी अस्थायी रूपमा रिहा गर्ने कानूनी प्रक्रिया हो।
यो कुनै सजाय मिनाहा वा माफी होइन, तर कैदीलाई सुधारिएको जीवन जिउन प्रोत्साहित गर्न र समाजमा पुन:स्थापना गर्नका लागि दिइने एक अवसर हो।
उनले फोर्डमाथि आक्रमण गर्न खोजेको केही दिनअघि मात्र, कल्ट नेता चार्ल्स म्यान्सनका अनुयायीहरूले पनि फोर्डमाथि हत्या प्रयास गरेका थिए।
राष्ट्रपति फोर्डलाई मूरको आक्रमणमा केही भएको थिएन । उनले यो आक्रमण अमेरिकी क्रान्ति भडकाउने उद्देश्यले गरेको बताएकी थिइन् । उनको मृत्यु राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएका दुई हत्या प्रयासका बीचमा भएको हो।
सन् १९७५ सेप्टेम्बर २२ मा मूरले होटल बाहिर करिब ३,००० जनाको भीडको बीचबाट रिभलभरबाट गोेली प्रहार गरेकी थिइन । तर गोली फोर्डलाई भने लागेको थिएन । नजिकै उभिएका एक पूर्व अमेरिकी मरीनले उनलाई नियन्त्रणमा लिएपछि उनको दोस्रो गोली प्रहार गर्ने प्रयास असफल भएको थियो ।
आक्रमणभन्दा एक दिनअघि पनि मूरलाई सुरक्षाकर्मीले भीडमा बन्दुकसहित देखेका थिए । त्यतिबेला उनको बन्दुक जफत गरिएको थियो । त्यसपछि उनले अर्को बन्दुक खरिद गरेकी थिइन्।
क्यालिफोर्नियाकी चार सन्तानकी आमा मूरले दोषी ठहर गर्दै जीवनकैदको सजाय भोगेकी थिइन्। उनले ३२ वर्ष जेल जीवन बिताएपछि परोलमा रिहा भएकी थिइन्।
उनले आफू १९६० र ७० को दशकको सामाजिक अशान्तिबाट कट्टरपन्थी बनेको स्वीकार गरेकी थिइन्। भियतनाम युद्ध चलिरहेको बेला फोर्डलाई गोली हान्दा नयाँ क्रान्ति सुरु हुन्छ भन्ने विश्वास लागेर गोली हानेको दाबी गरेकी छिन ।
तर अनुसन्धानकर्ताले उनलाई कुनै क्रान्तिकारी समूहसँग संलग्न नभएको र मानसिक रूपमा स्वस्थ रहेको बताएका थिए।








