महिलाको आम्दानीको स्रोत झिनियाँ


प्रकाशित मिति : आश्विन २७, २०७४ शुक्रबार

रामपुर, पाल्पा,  तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको गतिलो आम्दानीको स्रोत बनेको छ ।

सदरमुकाम तानसेन, रामपुरलगायत विभिन्न ठाउँका महिलाले झिनियाँको व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत १० वर्ष अघिदेखि झिनियाँको व्यापार गर्दै आउनुभएकी रामपुर नगरपालिका–५ राङ्भाङकी मैयाँ श्रेष्ठलाई यतिबेला झिनियाँ बनाउन र बेच्न भ्याईनभ्याई छ । उहाँले विशेष गरी तिहार पर्वका बेला झिनियाँ बेचेर रु एक लाख ५० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

“तिहारको चहलपहल शुरु हुनासाथ झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । झिनियाँको व्यापार शुरु गरेदेखि घरखर्च चलाउन र आफू परनिर्भर हुन नपरेको उहाँको भनाइ छ ।

झिनियाँ बनाएर १० वर्ष बितेको थाहा नभएको उहाँको अनुभव छ । श्रेष्ठले दशैँ तिहारका बेला कामदारसमेत राखेर झिनियाँ उत्पादन गर्दै आउनुभएको छ । अहिले दैनिक ३०० दर्जनभन्दा बढी झिनियाँ बिक्री गर्नुहुन्छ ।

त्यस्तै रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारीकी लक्ष्मी श्रेष्ठले झिनियाँबाट राम्रै आम्दानी हुन थालेपछि विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उत्पादन शुरु गर्नुभएको छ । घरमै बसीबसी उहाँले झिनियाँ बनाएर तिहारका बेला रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

यहाँ उत्पादन भएको झिनियाँ पाल्पाका विभिन्न बजार, स्याङ्जा, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो ।

ठूलो लगानी गर्न नपर्ने तथा रु २५÷३० हजारको लगानीमा घरमै बसीबसी लाखौँ रुपैयाँ कमाइ हुने भएपछि धेरैको दिनचर्या झिनियाँ बिक्रीमै बित्ने गरेको छ । झिनियाँ बिक्रीबाट महिलाले पर्याप्त आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको झिनियाँ प्रतिदर्जन रु ६० देखि रु ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहार पर्वका लागि मात्र बनाइने झिनियाँको हिजोआज अन्य समयमा पनि व्यापार हुने गरेको छ । पछिल्लो समय तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।
रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com