तिहारका लागि तीन लाख ‘फूलको माला’ ल्याइँदै


प्रकाशित मिति : आश्विन २७, २०७४ शुक्रबार

 

– शर्मिला पाठक 

गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ ।

गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो । गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ ।

यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य रु ६० देखि रु ७० सम्म तिर्नु पर्ने देखिन्छ । गत वर्ष रु ५० देखि रु ६० सम्ममा माला किनमेल भएको फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरेको थियो । तर यस वर्ष फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि तीन लाख माला आयात गरिने फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।

“तीन दिन भित्रमा भारतबाट सबै माला आइसक्छ,” उहाँले भन्नुभयो ।

गत वर्ष दुई लाख माला आयात गरिएको थियो भने यस वर्ष माग बढेकाले रु ९० लाखको सयपत्री फूलको तीन लाख माला भारतबाट आयात गर्ने तयारी भएको छ । यो गत वर्षको तुलनामा रु ३० लाखले बढी हो । गत वर्ष रु ६० लाख मूल्य बराबरको सयपत्री माला आयात गरिएको थियो ।

“यस पटकको तिहारमा भारतबाट अत्यन्तै थोरै माला आयात गर्ने तयारी थियो, तर माग बढेपछि बढी आयात गर्नुपरेको हो” श्रेष्ठले भन्नुभयो । अहिले देशभित्रै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका तिहारमा १८ प्रतिशतसम्म फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

तिहारमा १५ लाख माला खपत हुने 

यस वर्ष तिहारमा देशभर रु १५ लाख फूलको मालाको कारोबार हुने भएको छ । गत वर्षको तिहारमा रु ११ लाखको कारोबार भएको थियो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

सन् २०१६ मा रु एक अर्ब ७१ करोडको फूलको कारोबार भएकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार भएको थियो । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिकरुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूल बढी खपत हुन्छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको अवस्था छ । अस्टे«लिया, मलेसियामा नेपालीले बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।

व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल रोप्ने गरिन्छ ।

नेपालमा सन् १९५० बाट शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com