एनआरएनए सम्मेलन भोलिदेखि, यी हुन् उम्मेदवारहरु


प्रकाशित मिति : आश्विन २७, २०७४ शुक्रबार

भोलि अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनको सरगर्मी ह्वात्तै बढेको छ । विश्वभरका सयौं एनआरएन नेता र प्रतिनिधीहरु काठमाडौं आइसकेका छन् । यो विश्व सम्मेलनले आगामी दुईवर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी घोषणा गर्नेहरुको रस्साकस्सी र दौडधुप पनि निकै नै तीब्र छ । उम्मेदवारी घोषणा गरेकाहरु आफ्नालागि भोटमाग्न र प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

अध्यक्ष बन्ने दाउपेच

एनआरएन आईसीसीको नेतृत्व लिनका लागि उम्मेदवारी घोषणा गरेकाहरुको दौडधुप र दाउपेच पनि चर्को बनेको छ । राजनीतिक लविंगदेखि एनआरएन डेलगेट्स बसेका कोठाकोठा र होटेलहोटेलमा पुगेर उम्मेदवारीको घोषणा गरेकाहरुले भोट मागिरहेका छन् ।

हेलिकोप्टर चढेर जिल्ला बाहिरका कतिपय कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धा जस्तै चल्यो भने कुनै कार्यक्रममा सहभागी नहुँदा भोट घट्ने हो कि भन्ने चिन्ताले उम्मेदवारहरुको व्ययस्तता थप बढेको छ । राजनीतिक दलका नेताहरु भेटेर आफ्ना लागि माहौल तयार गर्नेदेखि डेलिगेट्सहरुलाई दारुपानी खुवाएर आफ्नो प्रभावमा पार्ने प्रयास समेत भइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्षका उम्मेदवारहरु

अहिलेसम्म अध्यक्षका रुपमा ३ जना एनआरएन नेताहरु चर्चामा रहेका छन् । सुरुमा कुमार पन्तले अध्यक्षमा उम्मेदवारी दिने चर्चा रहेपनि भवन भट्टसँगको समझदारीपछि उनले उपाध्यक्षमा उम्मेदवारी दिने मनस्थीति बनाएपछि उपाध्यक्षका लागि तीनजना उम्मेदवारहरु चर्चामा छन् ।

एनआरएन आईसीसीका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले आगामी कार्यकालका लागि पनि उम्मेदवारीको घोषणा गरेकी छिन् । २ दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी जमुनालाई त्यहाँको पत्रिकाले अष्ट्रेलियाका धनी महिलाहरुको सुचीमा ११ औं नम्बरमा राखेको थियो । अष्ट्रेलियामा धनी महिलाको सुचीमा पर्ने दक्षिण एसियाबाटै पहिलो महिला थिइन् जमुना । सन् १९९० मा विद्यार्थी भिसामा अष्ट्रेलिया गएकी जमुना मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी म्यानेजिङ डाइरेक्टर हुन् । उनले शेष घलेलाई विभिन्न ब्यापारिक काममा सहयोग गर्दै आएकी छिन् भने एनआरएन आन्दोलनमा पनि घलेकै साथमा छिन् ।

त्यस्तै जापानका सफल व्यवसायी भवन भट्टले एनआरएन अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरेका छन् ।

‘कारोबार’ दैनिक, युनाइटेड बु्रअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे ।
एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यसैगरी अध्यक्षमा नै उम्मदेवारीको घोषणा गरेका टीबी कार्की सन् २०१३ देखि २०१५ सम्मको कार्यकालमा एनआरएन आईसीसीका उपाध्यक्ष थिए । अहिले अध्यक्षका लागि कार्की चुनावी दौडधुपमा छन् । कार्की विगत १२ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । सन् २००७ मा कतारबाट आईसीसी सदस्य बनेका थिए कार्की । त्यसपछि पाँचौं विश्व सम्मेलनबाट उनी एनआरएन आईसीसीको सचिव बनेका थिए ।

को को छन् अन्य उम्मेदवारहरु ?

२ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि अहिलेसम्म ६ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । युरोपबाट कुमार पन्त र कुल आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने अमेरिकाबाट सोनाम लामा र खगेन्द्र जीसीले । मधयपूर्वबाट कतार निवासी नरेन्द्र भाटले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने एसियाको जापानबाट चिरञ्जिवी थापाले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यस्तै एकजना निर्वाचित हुने महिला उपाध्यक्षमा रञ्जु वाग्ले थापा र सपिला राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

के के हुँदैछ सम्मेलनमा ?

एनआरएनको ग्लोबल सम्मेलन आगामी अक्टोबर १४ बाट सुरु हुँदैछ । बलियो भविश्यका लागि महिला, युवा र दोश्रो पुस्ता भन्ने नारासहित हुन गइरहेको एनआरएनको विश्व सम्मेलनमा झण्डै १५ सय प्रतिनिधी पर्यवेक्षकहरु उपस्थीत हुनेछन् ।

१४ अक्टोबरमा होटल हायातमा एनआरएनको ग्लोबल सम्मेलनको उद्घाटन हुनेछ । त्यसको भोलिपल्ट १५ अक्टोबरमा एनआरएनए आईसीसीको साधारणसभा र बन्दशत्रको आयोजना गरिनेछ । १६ अक्टोबरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ भने १७ अक्टोबरमा समापन कार्यक्रम गरिनेछ ।

१४ अक्टोबरमा प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्ने र १५ अक्टोबरको विहानसम्म मतदाताको अन्तिम सुची प्रकाशन गर्ने कार्यक्रम छ । अक्टोबर १५ मा नै उम्मेदवारी दर्ताको प्रकृया सुरु हुनेछ भने अक्टोबर १६ को दिउसो १२ बजेसम्म उम्मेदवारको अन्तिम सुची प्रकाशित हुनेछ । १६ अक्टोबरमा दिउसो १ बजेदेखि निर्वाचन प्रारम्भ हुनेछ भने निर्वाचन सम्पन्न भएको १ घण्टामा मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com