अमेरिकाको युटाहमा ट्रम्पका कट्टर समर्थकको गोली हानी हत्या


प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार

अमेरिकाको युटाहस्थित युटाह भ्याली विश्वविद्यालयमा भएको एक कार्यक्रममा कन्सर्भेटिभ कार्यकर्ता तथा ट्रम्पका कट्टर समर्थक चार्ली कर्कको गोली हानी हत्या भएको छ। उनको मृत्युको घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत गरेका छन्।

टर्निङ प्वाइन्ट यूएसएका संस्थापक कर्कले विश्वविद्यालयमा आफ्नो भाषण सुरु गरेलगत्तै गोली प्रहार भएको थियो। गोली चलेपछि विद्यार्थीहरू आतंकित हुँदै भागेको भिडियोहरूमा देखिन्छ। कर्क आफ्नो कुर्सीमा पछाडि ढल्किएपछि भिड तितरबितर भएको थियो।

युटाह भ्याली विश्वविद्यालयका प्रवक्ता स्कट ट्रटरका अनुसार ओरेम क्याम्पसको फुड कोर्ट नजिकै कर्कले र्‍याली सुरु गर्दै गर्दा गोली हानिएको थियो।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “महान् र साँच्चै दन्त्यकथा जस्तै व्यक्तित्व भएका चार्ली कर्क अब रहेनन्। अमेरिकी युवाको मन र भावना कसैले पनि उहाँजस्तो बुझ्न सकेन।”

गोली लाग्नुभन्दा केही क्षणअघि कर्कले अमेरिकामा भइरहेको बन्दुक हिंसाका बारेमा छलफल गरिरहेका थिए। यस घटनाको विभिन्न राजनीतिक दलका नेताहरू र दक्षिणपन्थी प्रभावशाली व्यक्तिहरूले निन्दा गरेका छन्।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले यस आक्रमणलाई “घृणित, निकृष्ट र निन्दनीय” भनेका छन् र अमेरिकामा राजनीतिक हिंसाको कुनै पनि रूप स्वीकार्य नहुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले भिडियो वक्तव्य जारी गर्दै चार्ली कर्कको हत्यालाई “अमानवीय घटना” भनेका छन्। उनले आफ्नो प्रशासनले “यस घटनामा संलग्न प्रत्येक व्यक्तिलाई र अन्य राजनीतिक हिंसामा संलग्नहरूलाई पनि पत्ता लगाउने” प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पले “कट्टर वामपन्थी राजनीतिक हिंसाले धेरै निर्दोष मानिसलाई पीडा दिएको” बताएका छन्। उनले आफूविरुद्ध भएको हत्या प्रयास र गत वर्ष युनाइटेडहेल्थकेयरका प्रमुख कार्यकारी अधिकृत ब्रायन थोम्पसनको हत्यालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

ट्रम्पले प्रायः “कट्टर वामपन्थी” लाई अमेरिकामा बढ्दो राजनीतिक विभाजनको दोषी ठहराउँदै आएका छन्। तर, उनका आलोचकहरूले भने उनको यस्तो भाषणले राजनीतिक विपक्षीहरूमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।

अमेरिकामा बन्दुक राख्ने अधिकार संविधानले दिएको कारण धेरै मानिसहरू सजिलैसँग बन्दुक राख्छन्।

त्यसै कारण विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, पसल वा सार्वजनिक ठाउँमा गोली चल्ने घटना बारम्बार सुनिन्छ।

प्रायः गोली प्रहारको घटना व्यक्तिगत विवाद, मानसिक स्वास्थ्य समस्या, घृणाप्रेरित अपराध वा आतंक फैलाउने उद्देश्यले हुने गर्छ।

यसले हरेक वर्ष हजारौँ मानिसको ज्यान जाने वा घाइते हुने अवस्था बनाउँछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com