नेपालमा रहेका आफ्ना नागरिकलाई आवतजातव सिमित गर्न आग्रह गर्दै बेलायतद्वारा ट्राभल एड्भाइजरी जारी
प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार
बेलायतले नेपालको लागि आफ्नो ट्राभल एड्भाइजरी अपडेट गर्दै हाल नेपालमा रहेका वा यात्रा गर्ने योजनामा रहेका बेलायती नागरिकहरूले नयाँ मार्गदर्शन जाँच गर्न सुझाव दिएको छ । बेलायती नागरिकहरूलाई एड्भाइजरी अपडेट हुँदा इमेल सूचनाहरू प्राप्त गर्न साइन अप गर्न प्रोत्साहित गरिएको छ ।
नेपालमा रहेका बेलायती नागरिकहरुलाई नयाँ अपडेटहरुका लागि नियमित रूपमा बेलायती ट्राभल एड्भाइजरी जाँच गर्न सल्लाह दिइएको छ भने कन्सुलर सहायताको आवश्यकता परेका ब्रिटिश नागरिकहरूलाई दूतावासमा फोन गर्न सुझाव दिइएको छ ।
नेपालमा रहेका बेलायती नागरिकहरुलाई आवतजावत सीमित गर्न, विरोध क्षेत्रहरूबाट टाढा रहन, स्थानीय मिडिया च्यानल मार्फत अपडेट रहन, स्थानीय अधिकारीहरू र कर्फ्यू नियमका निर्देशनहरू पालना गर्न बेलायतले सुझाव दिएको छ ।
ट्राभल एड्भाइजरीमा भनिएको छ, “काठमाडौं र देशभरका अन्य ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्। प्रहरीले घातक बल प्रयोग गर्दै हिंसात्मक झडपहरू भएका छन्। यसले गर्दा धेरैको मृत्यु र घाइते भएका छन्। काठमाडौं र पोखरा लगायत धेरै शहरहरूमा कर्फ्यू लगाइएको छ। विरोध प्रदर्शनबाट बच्नुहोस्, अपडेटहरूको लागि स्थानीय मिडिया जाँच गर्नुहोस् र अधिकारीहरूको निर्देशन पालना गर्नुहोस्।”
“काठमाडौं विमानस्थल पनि अवरुद्ध भएको छ, जसले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई असर गरिरहेको छ। यात्रा गर्नु अघि अद्यावधिक जानकारीको लागि आफ्नो एयरलाइन, होटल र टुर अपरेटरलाई सम्पर्क गर्नुहोस्। पर्यटकहरूले यात्रा योजनाको प्रमाणसहित विमानस्थलहरूमा घुम्न र यात्रा गर्न सक्षम हुनुपर्छ,” ट्राभल एड्भाइजरीमा भनिएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध हटाइए पनि सेवाहरूमा निरन्तर अवरोधको अपेक्षा गर्नुपर्ने एड्भाइजरीमा उल्लेख छ ।








