पृथ्वीनारायण शाहको फोटो पृष्ठभूमिमा राखेर प्रधानसेनापतिको सम्बोधन, के भने? (पूर्ण पाठ)


प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार

पृथ्वीनारायण शाहको फोटो र नेपालको झण्डा पृष्ठभूमिमा राखेर प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गरेका छन् । उनले झण्डै २ मिनेट लामो आफ्नो सम्बोधनमा के भने? पूर्ण पाठ:

“नेपालको इतिहास देखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ।

नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षति प्रति गहिरो दुःख प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसंतप्त परिवारजन प्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ। साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ।

आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भैसकेको हुँदा, जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन, चयन एबं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्तमान असहज परिस्थितिलाई सामान्यकरण गर्दै, राष्ट्रिय एबं ऐतिहासिक सम्पदा, सार्वजनिक एबं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।

तसर्थ, यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौ। जय मातृभूमि, जय देश।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com