अमेरिकी दूतावास काठमाडौंका आजका कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू रद्द


प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार

US embassy Nepal

अमेरिकी दूतावास काठमाडौंले दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि रद्द गरिएको जनाएको छ। सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्क बिना आफ्ना अपोइन्टमेन्टहरू पुनः लिन सक्ने दूतावासले बताएको छ ।

दूतावासले सामाजिक सञ्जालमा पोष्ट गरिएको सूचनामा भनिएको छ, “दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि रद्द गरिएको छ। सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्क बिना आफ्ना अपोइन्टमेन्टहरू पुनः लिन सक्नेछन्।”

सूचनामा थप कारण भने खुलाइएको छैन । यद्यपी काठमाडौंमा भएको हिंशात्मक घटना र आजको कर्फ्युका कारण कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू रद्द गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको  छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेको छ । वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्रअन्तर्गत पूर्वमा भैंसेबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लागू हुनेछ ।

यसैगरी वडा नं २ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्रमा पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु जारी भएको हो । वडा नं. ९ को च्यासल क्षेत्रअन्तर्गत पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल खेलमैदान, उत्तरमा मनोहरा खोला र दक्षिणमा मल पोखरी जाने बाटोमा कर्फ्यु आदेश जारी गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com