काठमाडौंमा भएको प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्यु, ठाउँठाउँमा कर्फ्यू, सडकमा सेनाको टुकडी परिचालन
प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार
काठमाडौंमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु करिब २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । धेरै घाइतेहरूलाई रबरको गोली लागेको छ।
नयाँ बानेश्वरमा प्रदर्शनका फोटो खिच्ने क्रममा प्रहरीले प्रहरीले चलाएको रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । उनीहरुको टाउकोका विभिन्न भागमा रबरको गोली लागेको छ भने अहिले अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीसँग झडप भएको थियो । स्थीति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। केही प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित सङ्घीय संसद परिसरमा तोडफोड र आगजनी पनि गरेका थिए।
सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा युवा पुस्ताले देशका विभिन्न मुख्य सहरमा प्रदर्शन गरेका हुन् । पोखरा र इटहरीका केही स्थानमा पनि कर्फ्यू लगाइएको छ ।
काठमाडौंका संसद् भवन परिसर वरपरका ठाउँ लगायत विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ । सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए। स्थीति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ । कर्फ्यूको घोषणासँगै सडकमा नेपाली सेनाको टुकडी पनि तैनाथ गरिएको छ ।
देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई गरिएको आह्वानपछि आजको प्रदर्शन भएको हो । यो प्रदर्शनमा काठमाण्डौं महानगरपालिकामा मेअर बालेन शाहसहित विभिन्न राजनीतिक दलका नेताहरु र कलाकारहरुले समेत ऐक्यवद्धता जनाएका थिए ।








