अमेरिकामा रोजगारीमा कमी, बेरोजगारी भत्ता दाबी गर्नेहरु बढ्दै
प्रकाशित मिति : भाद्र १९, २०८२ शुक्रबार
अमेरिकाको रोजगारी बजारमा सुस्तता देखिएको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा रोजगारीको संख्यामा आएको कमीले चिन्ता बढाएको छ।
श्रम मन्त्रालयका अनुसार, अगस्ट महिनामा अमेरिकामा जम्मा २२ हजार नयाँ रोजगारी थपिएका छन्, जुन अपेक्षाभन्दा निकै कम हो। यसले गर्दा बेरोजगारी दर ४.२ प्रतिशतबाट बढेर ४.३ प्रतिशत पुगेको छ।
श्रम मन्त्रालयले मे र जुन महिनाको प्रारम्भिक अनुमानभन्दा नयाँ रोजगारी धेरै कमजोर भएको जनाएको थियो। पछिल्लो अनुमानअनुसार, जुन महिनामा त अमेरिकाले रोजगारी गुमाएको देखिएको छ। सन् २०२० को जुन महिनापछि अमेरिकामा रोजगारी गुमेको यो पहिलो पटक हो।
यसैगरी, अगस्ट २०२३ देखि अगस्ट २०२५ सम्मको मासिक गैर-कृषि रोजगारी वृद्धिदरलाई हेर्दा, महामारीपछि मासिक वृद्धिदर लगातार कमजोर हुँदै गएको देखिन्छ। विश्लेषकहरूका अनुसार, जनसंख्या वृद्धिसँग तालमेल मिलाउन अमेरिकालाई मासिक करिब ५०,००० नयाँ रोजगारी आवश्यक पर्छ, जुन पहिलेको स्तरभन्दा निकै कम हो।
रोजगारी बजारमा समस्या बढ्दै गएकोले अमेरिकी केन्द्रीय बैंक (फेड) ले यसै महिनाको बैठकमा ब्याजदर कटौती गर्ने सम्भावना बढेको लगानीकर्ताहरूले बताएका छन्। रोजगारीमा आएको कमीको कारणले बेरोजगारी भत्ता दाबी गर्नेहरुको संख्या पनि बढेको छ। बेरोजगारी दर अक्टोबर २०२१ पछि सबैभन्दा उच्च देखिएको रिपोर्टहरूले देखाएका छन्।
अगस्ट महिनाको सुस्त तथ्यांक सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्यांक ब्युरोकी प्रमुखलाई बर्खास्त गरेका थिए। उनले ती तथ्यांक आफूलाई खराब देखाउने गरी बिगारेको दाबी पनि गरेका थिए।
विज्ञहरूले भने ट्रम्पको शुल्क र कडा आप्रवासन नीतिका कारण नयाँ रोजगारीमा समस्या आएको बताइरहेका छन्। शुल्क र कडा आप्रवासन नीतिले कम्पनीहरूको लागत बढाउने र अनिश्चितता सिर्जना गर्ने चेतावनी विश्लेषकहरूले दिँदै आएका छन्।
ट्रम्प प्रशासनले हजारौं सरकारी कर्मचारीलाई पनि बर्खास्त गरेको छ। श्रम मन्त्रालयका अनुसार, गत महिना मात्र संघीय सरकारले १५,००० रोजगारी कटौती गरेको थियो।
यद्यपि, उत्पादन र निर्माण क्षेत्रमा रोजगारी घटे पनि स्वास्थ्य क्षेत्रमा भने वृद्धि देखिएको छ। लगातार चार महिनासम्म उत्पादन क्षेत्रमा रोजगारी घट्नु राम्रो संकेत नभएको जानकारहरु बताउँछन्।
श्रम रिपोर्ट सार्वजनिक भएपछि वार्षिक तलब वृद्धिदर ३.७५ प्रतिशत रहेको रिपोर्टका कारण सेयर बजार भने सामान्य माथि गएको थियो।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटले अगस्टको रोजगारी तथ्यांक ‘निराशाजनक’ भएको स्वीकार गरे, तर भविष्यमा हुने परिमार्जनले राम्रो चित्र देखाउने अपेक्षा व्यक्त गरे।
यता, केही ह्वाइट हाउसका अधिकारीहरूले भने कम रोजगारी सृजना हुनुको कारणमा फेडरल रिजर्भ र यसका अध्यक्ष जेरोम पावेललाई दोष लगाएका छन्। एजेन्सीहरुको सहयोगमा








