ट्रम्पले लगाएका अधिकांश भन्सार करहरूलाई अपिल अदालतद्वारा गैरकानुनी ठहर


प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका धेरैजसो भन्सार करहरूलाई अपील अदालतले गैरकानुनी ठहर गरेको छ। यो निर्णयले ट्रम्प प्रशासनको व्यापार नीतिको वैधतामाथि गम्भीर प्रश्न उठाएको छ।

अपील अदालतले ७–४ को बहुमतले गरेको यो फैसलामा ट्रम्पले “आपतकालीन आर्थिक शक्तिको कानुन” अन्तर्गत कर लगाउने अधिकार नभएको स्पष्ट पारेको छ। अदालतले कर लगाउने अधिकार संसदको मौलिक अधिकार भएको र राष्ट्रपतिले यो अधिकार प्रयोग गर्न नसक्ने बताएको छ।

यस फैसलाले चीन, मेक्सिको, क्यानडा लगायतका देशहरूमाथि लगाइएका “पारस्परिक” भन्सार करहरूलाई खारेज गरेको छ। यसले विदेश नीतिमा कानुनी चुनौतीहरू सिर्जना गर्न सक्ने संकेत पनि गरेको छ।

साना व्यवसायीहरू र अमेरिकी राज्यहरूको गठबन्धनले दायर गरेका दुईवटा मुद्दाबाट यो फैसला आएको हो । गत अप्रिलमा ट्रम्पले लगभग सबै मुलुकमाथि न्यूनतम १० प्रतिशत भन्सार कर घोषणा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको यो निर्णयको ट्रम्पले कडा आलोचना गरेका छन्। उनले यो निर्णयले अमेरिकालाई आर्थिक रूपमा कमजोर बनाउने र राष्ट्रिय सुरक्षाका लागि घातक हुने बताएका छन्। ट्रम्प प्रशासनसँग यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गर्नका लागि अक्टोबर १४ सम्मको समय छ।

यस मुद्दामा स्टील र एल्युमिनियममा लगाइएका करहरू भने यथावत् रहनेछन्। यो मुद्दा अब सर्वोच्च अदालतमा जाने सम्भावना छ। सर्वोच्च अदालतमा ट्रम्पले नियुक्त गरेका तीन न्यायाधीशसहित ६ जना रिपब्लिकनद्वारा नियुक्त न्यायाधीश रहेकाले अन्तिम फैसला कसरी आउँछ भन्ने विषयमा धेरैको चासो छ।

सर्वोच्च अदालतले अघिल्ला वर्षहरूमा राष्ट्रपतिहरूको कानुनी अधिकार नाघ्ने नीतिहरूलाई खारेज गर्ने गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com