ओबामाकालीन अधिकारीहरू ट्रम्प प्रशासनको निशानामा


प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ३७ जना वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरूको सुरक्षा क्लियरेन्स (सुरक्षा अनुमति) खारेज गरेपछि डेमोक्र्याटहरूले यस कदमलाई “राजनीतिक नौटङ्की” भन्दै टिप्पणी गरेका छन्।

उनीहरूले यसलाई ट्रम्प प्रशासनका अलोकप्रिय नीतिहरूबाट ध्यान हटाउने प्रयास र ट्रम्पको जेफ्री एप्स्टिनसँगको विवादित सम्बन्ध ढाकछोप गर्ने चाल भएको आरोप समेत लगाएका छन्।

हालका हप्ताहरूमा राष्ट्रिय गुप्तचर निर्देशक टुल्सी गब्बार्डले विशेषगरी ओबामा युगका गुप्तचर अधिकारीहरूलाई निशाना बनाइरहेकी छन्। उनीहरूमाथि रूसले २०१६ को चुनावमा हस्तक्षेप गरेको निष्कर्ष निकालेको आरोप लगाइएको छ। ट्रम्प र गब्बार्डले त्यो निष्कर्षलाई “राष्ट्रविरोधी षड्यन्त्र” भनेर वर्णन गरेका छन्।

ती अधिकारीहरूलाई “राजनीतिक स्वार्थ वा व्यक्तिगत लाभका लागि गोप्य सूचनाको दुरुपयोग गरेको” आरोप लगाइएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पकै आदेशमा गरिएको ग्याबार्डले बताएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले यी क्लियरेन्सहरू हटाउन आदेश दिनुको कारण “सूचना दुरुपयोग, अनधिकृत रूपमा गोप्य सूचना चुहावट, गम्भीर पेसागत मापदण्डको उल्लङ्घन, र सार्वजनिक विश्वासमा धोका पुर्‍याउने कार्य” भएको दाबी गरिएको छ।

ट्रम्प प्रशासनले यसअघि पनि बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, र क्यापिटोल दङ्गासम्बन्धी जाँचमा संलग्न पूर्व सांसदहरूबाट पनि सुरक्षा क्लियरेन्स खोसिसकेको छ।

पछिल्ला दिनमा डेमोक्र्याटहरू र रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच असमझदारीहरू बढ्दो क्रममा रहेका छन्। मतभेदहरू सतहमा आएका देखिएको छ। असहमति र असमझदारीहरू बढ्दै जाँदा अमेरिकी राजनीतिमा ध्रुवीकरण चुलिँदै जाने सम्भावना छ।

खासगरी आप्रवासन नीति, निर्वाचन क्षेत्रको पुनर्संरचना र अन्य देशलाई अमेरिकाले दिँदै आएको सहयोग बन्द गर्ने ट्रम्प प्रशासनको नीतिका कारण मतभेद र असमझदारीहरू बढ्दै गएको जानकारहरूले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com