क्रिमिया त्यागेर नाटोमा सदस्यता नलिने वाचा गर्न युक्रेनमाथि अमेरिकाको दबाब


प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि युद्ध अन्त्यका सर्तहरू मान्न दबाब बढाएका छन्। दुई दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि सार्वजनिक भएका केही मागहरू उनले पुनः दोहोर्याएका छन्।

ट्रम्पले भने, युद्ध अन्त्य गर्न युक्रेनले रुसका केही सर्तहरू मान्नैपर्नेछ। ती सर्तमध्ये सन् २०१४ मा रुसले अवैध रूपमा कब्जा गरेको क्रिमिया त्याग्नु र युक्रेनले नाटोको कहिल्यै सदस्यता नलिने वाचा गर्नु पर्ने माग समावेश छन्।

“क्रिमिया र धेरैजसो डोनबास फिर्ता ल्याउने कुनै भ्रम अब समाप्त भएको छ,” उनले भने। “यो तीतो सर्त जेलेन्स्कीले स्वीकार गर्नुपर्नेछ भन्ने ट्रम्पको स्पष्ट बुझाइ छ। अब हाम्रो ध्यान युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टीलाई मजबुत बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।”

ह्वाइट हाउसले भने रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित शान्ति सम्झौतातर्फ प्रगति भएको सङ्केत गरेको छ। अमेरिकी विशेष दूत स्टीभ विट्कफले पुटिनले युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी स्वीकार गर्न तयार भएको र केही छुट दिने सङ्केत गरेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, अझै पनि धेरै जटिलता र प्रश्नहरू बाँकी छन्। जेलेन्स्कीले आइतबार पुनः आफ्नो कडा धारणा स्पष्ट पार्दै भने, “युक्रेनको संविधानले भूभाग छोड्ने वा जमिन साट्ने सम्भावना नै बन्द गर्छ।”

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वाशिङ्टन डीसी आइपुगेका छन्। उनले युरोपेली नेताहरूसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन्।

युरोपेली नेताहरू फ्रान्सका इम्यानुएल माक्रोँ, जर्मनीका फ्रेडरिक मर्ज, बेलायतका कियर स्टार्मर र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले वाशिङ्टन डीसीमा हुने भेटमा जेलेन्स्कीको साथ दिनेछन्।

यस प्रयासलाई युक्रेनलाई समर्थन गर्ने र युक्रेनका लागि पश्चिमी समर्थनको भविष्य तय गर्ने सम्भावित कदमका रूपमा हेरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com