क्याटलोनियामा सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

स्पेनको बार्सिलोना शहरमा क्याटलोनियाका क्षेत्रिय राष्ट्रपतिको एउटा महत्वपूर्ण संसदीय सम्बोधन अघि सुरक्षा व्यवस्था कडा पारिएको छ।

क्याटलान राष्ट्रपति कार्लेस पुज्डमोनले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्न सक्ने सम्भावना बारे देशै भरी ब्यापक चर्चापरिचर्चा भैरहेको छ।

बार्सिलोनास्थित क्षेत्रिय संसद भवन बाहिर क्याटलान प्रहरी तैनाथ गरिएको छ र त्यहां सर्वसाधारण कसैलाई पनि जान दिइएको छैन।

क्याटलान नेता कार्लेस पुज्डमोनले उक्त प्रान्तको भविष्यका सम्बन्धमा आफ्ना योजनाहरुको घोषणा गर्दैछन्।

उनीमाथि स्पेनबाट स्वतन्त्रताको घोषणा नगर्न चर्को दबाब छ।

एउटा विवादास्पद जनमतसंग्रह पछि उनले एकपक्षिय रुपमा स्वतन्त्रताको घोषणा गर्न सक्ने व्यापक अनुमान गरिएको छ।

सम्बोधन

क्षेत्रिय संसदलाई उनले स्थानीय समय अनुसार सांझको छ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

र त्यसलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

बार्सिलोना शहरका मेयरले क्षेत्रिय राष्ट्रपति पुज्डमोन र स्पेनी प्रधानमन्त्री मारिआनो राखोईलाई सम्बोधन गर्दै यो संकटपूर्ण तनावलाई कम गर्ने दिशामा काम गर्न आह्वान गरेकी छन्।

गत अक्टोबर एक तारिखमा गरिएको स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा ९० प्रतिशत मतदाता स्पेनबाट स्वतन्त्रताको पक्षमा रहेको क्याटलान अधिकारीहरुले बताएका छन्।

कार्लेस पुज्डमोनक्याटलान राष्ट्रपति पुज्डमोनले स्वतन्त्रता घोषणा गर्ने बताउंदै आएका छन्

मतदाता उपस्थिति ४३ प्रतिशत रहेको बताइएको छ।

अवैध

मड्रिडले उक्त जनमतसंग्रहलाई गैरकानुनी भनेको थियो र स्पेनको संवैधानिक अदालतले त्यसलाई निलम्बन गरेको थियो।

जनमतसंग्रहसंग असहमतहरुले त्यसलाई सामान्यतया बहिष्कार गरेका थिए। मतदान रोक्ने प्रयासमा राष्ट्रिय प्रहरीले हस्तक्षेप गर्दा हिंसात्मक झडपहरु भएका थिए।

बार्सिलोनामा रहेका बीबीसी सम्बाददाता टम बर्रीज भन्छन्, “कार्लेस पुज्डमोनले विभिन्न अवसरमा आफूले स्वतन्त्रताको घोषणा गर्ने बताउंदै आएका छन् भने स्पेनभरीबाट उनको धारणाको चर्को प्रतिवाद भएको छ।

“युरोपेली सरकारहरुले पनि उनको योजनाको चर्को आलोचना गरेका छन्।”

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com