अटलान्टिकको पहिलो चक्रवात “एरिन” शक्तिशाली बन्यो, अमेरिकी पूर्वी तटसम्म फैलिने सक्ने


प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार

अटलाण्टिकको पहिलो चक्रवात “एरिन” शक्तिशाली बनेको छ । यो अमेरिकी पूर्वी तटसम्म फैलिन सक्ने सम्भावना रहेको छ।

अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार, सन् २०२५ को अटलाण्टिक सिजनको पहिलो चक्रवात ‘एरिन’ शनिबार क्याटागोरी-५ को विनाशकारी स्तरमा पुगेको छ।

यो चक्रवात अहिले प्युर्टो रिकोको राजधानी सान हुआनबाट करिब १७५ माइल उत्तर-पूर्वमा केन्द्रित छ र यसमा अधिकतम १६० माइल प्रतिघण्टाको वेगमा हावा बहिरहेको छ।

पूर्वानुमानअनुसार, ‘एरिन’ शनिबार राति पश्चिम-उत्तरपश्चिमतर्फ मोडिँदै गति सुस्त हुनेछ र अर्को हप्ताको सुरुमा उत्तरतर्फ बढ्नेछ। सोमबारदेखि भने यो क्रमशः कमजोर हुने अपेक्षा गरिएको छ।

यसको केन्द्र नर्दन लिवार्ड टापु, भर्जिन टापु र प्युर्टो रिकोको उत्तर हुँदै गुज्रनेछ। त्यसपछि, आइतबार राति र सोमबारसम्म यो टर्क्स एन्ड कैकोस टापु र दक्षिण-पूर्वी बहामासको पूर्वतर्फ पुग्नेछ।

अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रले चेतावनी दिएअनुसार, ‘एरिन’ ले सिर्जना गरेका ठूला छालहरूले यसै सप्ताहन्तमा लिवार्ड टापु, भर्जिन टापु, प्युर्टो रिको, हिस्पानिओला र टर्क्स एन्ड कैकोसलाई प्रभावित पार्नेछन्। अर्को हप्ताको सुरुमा यी छालहरू बहामास, बर्मुडा र अमेरिकी पूर्वी तटसम्म पनि फैलिन सक्ने सम्भावना छ।

बहामास सरकारले टर्क्स एन्ड कैकोस टापुहरूका लागि उष्णकटिबंधीय आँधीको सतर्कता जारी गरेको छ।

वरिष्ठ मौसमविद् एन्ड्र्यु सिफर्टका अनुसार, यदि ‘एरिन’ सुख्खा हावासँगको टकरावबाट बलियो “अफशोर” आँधीमा परिणत भएमा सुख्खा घाँसेभूमिमा डढेलोको जोखिम बढ्न सक्छ।

यद्यपि, बीमा सम्बन्धित लगानीकर्ता कम्पनीहरूले भने ‘एरिन’ अमेरिकी पूर्वी तटबाट पर्याप्त टाढा रहने सम्भावना भएकाले यसले ठूलो असर नगर्ने बताएका छन्। मौसमविद्हरूका अनुसार, यस चक्रवातका कारण आइतबारसम्म लिवार्ड टापु, भर्जिन टापु र प्युर्टो रिकोमा भारी वर्षा हुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com