वाशिङ्टन डीसीकी प्रहरी प्रमुखलाई पदमुक्त गर्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हट्यो
प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार
ट्रम्प प्रशासनले वाशिङ्टन डीसीकी प्रहरी प्रमुख पामेला स्मिथलाई पदमुक्त गर्ने आदेश फिर्ता लिएको छ।
अदालतमा भएको आपत्कालीन सुनुवाइपछि ट्रम्प प्रशासन डीसीकी प्रहरी प्रमुख स्मिथलाई पदमुक्त गर्ने निर्णयबाट पछि हटेको हो।
यसअघि अमेरिकी न्यायमन्त्री पाम बोंडीले ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेशनका प्रमुखलाई डीसीको “आपत्कालीन प्रहरी आयुक्त” घोषणा गरेपछि शहरले सो आदेशलाई अदालतमा चुनौती दिएको थियो।
सुनुवाइपछि न्याय मन्त्रालयले नयाँ आदेश जारी गर्दै डीइए प्रमुखलाई अब केवल प्रशासन र प्रहरीबीच मध्यस्थको भूमिकामा सीमित गरिएको बताएको छ।
शहरका अटर्नी जनरल ब्रायन श्वाल्बले यसलाई “प्रहरीको नियन्त्रण र आदेशसम्बन्धी मुख्य विवाद समाधान भएको” बताए।
न्यायाधीश एना रेयेसले ट्रम्प प्रशासनले प्रयोग गरेको कानुन १९७० को होम रुल एक्टअनुसार वाशिङ्टन डीसीकी मेयर म्युरियल बाउजरले ह्वाइट हाउसका निर्देशनहरू पालना गर्नुपर्ने बताएकी छन्।
तर, यसले सङ्घीय सरकारलाई सम्पूर्ण प्रहरी नियन्त्रण दिने अधिकार भने नदिने कुरा पनि उनले स्मरण गराएकी छन्।
नयाँ आदेशले मेयर कार्यालयलाई सङ्घीय आप्रवासन कार्यान्वयन र “सार्वजनिक स्थलको अवैध ओगटाई” विरुद्धको कारबाहीमा पनि सहकार्य गर्न निर्देशन दिएको छ।
शहर र प्रशासनबीच आप्रवासन नीतिबारेको बहस अर्को हप्तासम्म जारी रहनेछ।
राष्ट्रपति ट्रम्पले वाशिङ्टनमा अपराध नियन्त्रण गर्न सङ्घीय सुरक्षा संयन्त्र प्रयोग गर्ने घोषणा गरेका थिए।
त्यसयता उनले सयौं नेशनल गार्ड सदस्य र सङ्घीय एजेन्ट पठाएका छन्। बोंडीले डीइए प्रमुखलाई सम्पूर्ण प्रहरी प्रमुखको अधिकार दिने आदेश जारी गरेपछि, मेयर बाउजर र श्वाल्बले त्यसलाई “अवैध” भनेका थिए।
ट्रम्प प्रशासनले अपराध बढेको भन्दै कारबाही गरिरहेको भए पनि डीसी प्रहरीले प्रकाशित गरेको तथ्याङ्कले भने उक्त दाबीलाई फरक देखाएको छ।
डीसीमा हिंसात्मक अपराध सन् २०२३ मा चुलिएपछि घट्न थालेको हो। सन् २०२४ मा ३० वर्षकै न्यूनतम स्तरमा पुगेको थियो। सन् २०२५ को प्रारम्भिक तथ्याङ्कमा समेत २६ प्रतिशतले कमी देखिएको छ।








